वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले चिसो बढ्दै गएकाले विद्यालयहरूलाई तीन दिनका लागि जाडो विदा दिन निर्देशन दिएको छ। मंगलबार सूचना जारी गर्दै महानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यमा चिसोका कारण पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै पुस २४ गते (भोली) देखि पुस २६ गतेसम्म विदा दिन आग्रह गरेको हो।
महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतद्वारा जारी सूचनामा विद्यालयहरूको प्रशासनिक कार्य भने नियमित रुपमा सञ्चालन गर्न भनिएको छ। विद्यार्थीहरूलाई गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण बनाउन पनि विद्यालयहरूलाई निर्देशन दिइएको छ।
विद्यार्थीहरूको हितका लागि यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। जाडो विदा वर्षे विदाबाट कटौती गरिने भएकाले पठनपाठनको कार्यतालिका नियमित गर्न विद्यालयहरूले यसलाई सकारात्मक रुपमा लिन महानगरपालिकाले आग्रह गरेको छ।
विद्यालय प्रशासनले महानगरपालिकाको यो निर्णयलाई कार्यान्वयन गर्ने तयारी गरेको छ भने अभिभावकहरूले पनि यसलाई स्वागत गरेका छन्।







