बिरगंज । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक बिरगंजमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष अशोक राईको अध्यक्षतामा सुरु भएको बैठक दुई दिनसम्म चलेको थियो।
बिरगंजको पूजा होटलमा सम्पन्न बैठकले राजनीतिक, संगठनात्मक, र समसामयिक विषयहरूमा गहन छलफल गरेको जनाइएको छ । बैठकमा मधेशका मुद्दाहरू र पार्टीको भावी रणनीतिका विषयमा समेत व्यापक छलफल भएको उनले बताए।
बैठकमा सहभागी नेता तथा केन्द्रीय सदस्यहरूलाई बिरगंज महानगरपालिकाका मेयर तथा पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहले स्वागत गरेका थिए।
बैठकमा अध्यक्ष अशोक राईसँगै संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, उपाध्यक्ष शुशीला श्रेष्ठ, सह-अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष रन्ध्वज कन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव बिरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झा लगायतका नेताहरू सहभागी भएका थिए।
पार्टीका उपमहासचिव प्रदीप यादवका अनुसार बैठकले मधेशका जनताको मुद्दालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पार्टीको रणनीतिलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।






