वीरगन्ज । पाठेघरको क्यान्सर विरुद्ध अभियान सम्बन्धमा वीरगन्ज महानगरपालिका वडा ७ मा वडा खोप समन्वय समितिको अभिमुखीकरण तथा बहस पैरवी बैठक सम्पन्न भएको छ ।
महानगरको वडा न. ७ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जनस्वास्थ्य प्रबर्द्धन शाखा वीरगन्जले आयोजना गरेको बैठकमा लक्षित वर्गसम्म खोप पुर्याउन सबै निकायको सहयोग अपरिहार्य रहेको बारे चर्चा भएको थियो ।
विभिन्न क्षेत्रबाट सहभागी हुनेगरी बोलाइएको बैठकमा एचपिभी खोप अभियान २०८१ सफल बनाउन एकअर्कासंगको हातेमालो आवश्यक रहेकोले सबैले आआफ्नो स्तरबाट सूचना प्रवाह गर्न वक्ताहरुले जोड दिए ।
सोही वडाका वडा अध्यक्ष हिरा काजी महर्जनको अध्यक्ष्तामा बसेको बैठकमा सेवा केन्द्र प्रमुख अहेव बन्दना चौधरी र अनमी सुमन डंगोलले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बारे जानकारी गराउँदै त्यसको जोखिमबाट किशोरीहरुलाई बचाउन एचपिभी खोप प्रभावकारी रहेको जानकारी गराए ।
सरकारले जारी गरेको सूचना अनुसार खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाउने अहेव चौधरीले बताइन् ।
वीरगन्ज महानगरपालिकामा माघ २२ गतेदेखि सुरु हुने यो खोप अभियान फागुन ६ गतेसम्म चल्ने छ ।
वडा न. ७ मा २३ गते इन्दुलाखे बिद्यालयबाट सुरु हुने खोप अभियान २४ गते मेरी गोल्ड बिद्यालयमा २५, २७ र २८ गते माईस्थान विधापिठ बिद्यालयमा र बाकी रहेकाहरूका लागि २९ गते आधारभूत सेवा केन्द्रमै सेवा प्रदान गरिने तालिका बनाइएको छ ।
बैठकमा वडा सचिव मनोज यादव, वडा सदस्य पुनम कुमारी, दिपेन्द्र कानु, सोक्षीता रायमाझी, काशी साह तुराहा, शिक्षक अतुल श्रीवास्तव, स्वयंसेविका ललिता राम, सञ्चारकर्मी श्याम सर्राफ र व्यापारी बसन्त भक्कडको उपस्थिति रहेको थियो ।






