Categories रासस

८ वर्षमा बिहे, ९६ वर्षमा नागरिकता पाएकी तुलसीदेवी

Advertisement

बझाङ । वडाभरिकै पाको मान्छे। वृद्धावस्थामा पनि माटोसँगको सामिप्यमा छ, ९६ वर्षीया तुलसीदेवी जोशीको। बझाङको खप्तडछान्ना गाउँपालिका-५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छिन्। यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो।

“घरभित्रै बसिरहन मन मान्दैन,” उनले भनिन्, “बारीमा के-कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ। त्यसपछि कुटो बोकेर गइहाल्छु।”

Advertisement

थाहा भएदेखि कृषिमा जीवन समर्पित गरेकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छिन्। “गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्”, तुलसीले भनिन्।

Advertisement

तर यो उमेर बितिसक्दा पनि उनलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन। गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उनको घरमै पुगेर नागरिकता प्रदान गरेका हुन्।

थलारा गाउँपालिका-७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताए।

उनका अनुसार जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने बित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको हो।

बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मिएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका-५ का पदमराज जोशीसँग बिहे भएको थियो।  बिहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उनी एक्लो भइन्।

सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भूभाग नै तुलसीका लागि संसार भयो। “मेरा लागि त यही संसार हो,” तुलसीले भनिन्, “माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन। यही संसार आँखी झ्यालबाट हेरिरहन्छु।  त्यो पनि पुरै घुमेको छैन।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *