काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशलाई लिएर सदनमा सांसदहरूका बीच ‘घोचपेच’ बहस भएको छ ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षणका साथै शाहको अभिव्यक्तिलाई लिएर चर्काचर्की बहस गरेका छन् ।
राजतन्त्रको विरोधमा रहेको राजनीतिक दलका सांसदहरूले राजालाई चुनाव लडेर प्रधानमन्त्री बन्नसम्मको सुझाव दिँदै गर्दा राजतन्त्रको पक्षमा आवाज उठाउँदै आएको दलका सांसदले राजतन्त्र आवश्यक रहेको जिकिर गरेका छन् ।
पूर्वराजा शाहको अभिव्यक्तिपश्चात् नेकपा (माओवादी केन्द्र) मौन बसेको भन्ने संकेत गर्दै नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले कित्ता क्लियरको प्रसंग कोट्याएका छन् ।
हुन त शाहको अभिव्यक्तिपश्चात् माओवादी केन्द्रका शीर्ष नेताहरूले आलोचना गर्दै राजतन्त्र नफर्किने बताउँदै गर्दा बास्कोटाले माओवादी केन्द्रको ‘दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा हो ?’ भन्ने’बारेमा कित्ता क्लियर गर्नुपर्ने बताएका थिए ।
‘गम्भीरतापूर्वक कुरा उठिरहेको छ, माओवादीले आफ्नो कित्ता क्लियर गरोस् । दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा हो ? व्यवस्था बदल्न खोजेको कि सरकार बदल्न खोजेको ?’ बास्कोटाले प्रश्न गरे ।
गणतन्त्रको विरोध गर्ने काम संसद बैठक सुरु भएदेखि नै जारी रहेकोप्रति असन्तुष्टि जनाउँदै उनले कांग्रेस र एमालेले गरेको कामलाई देख्न नसक्नेहरूले सरकारको विरोध गरेको र व्यवस्था बदल्ने भाष्य बनाएको टिप्पणी गरे ।
‘राजा ल्याउने भनेर एकथरी कराउने, संघर्ष चर्काउने भनेर अर्कोथरी कराउने । प्रतिशोध भयो भनेर ‘डे वान’ देखि अर्कोथरी कराएको छ । ठीकै हो यहाँ कराउन पाइन्छ, सरकारका काम मन नपर्न सक्छ ।
के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ?’ बास्कोटाले प्रश्न गरे, ‘दक्षिणपन्थी र वामपन्थी विचार बोक्नेको एउटै चुलो बलेको हो ? सहमति त्यसमा हो ? याद गर्नुहोला, त्यो चुलोमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन, तीन पाक्दैन । भ्रममा नरहिदिनुहोला ।’
बास्कोटाले यस्तो प्रश्न गरेपछि बैठकमा बोल्ने क्रममा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आफूहरूले जनमुक्ति सेना निर्माण गरेर गणतन्त्र ल्याएको कुरा नबिर्सन चेतावनी दिए । ‘पूर्ववक्ता माननीयले माओवादीको कित्ता क्लियर होस् भन्नुभयो, क्लियरै छ । हामीले हिजो जनमुक्ति सेना निर्माण गरेर गणतन्त्र ल्याएका हौं,’ सांसद पौडेलले भने ।
पूर्वराजा’bout बास्कोटालाई यस्तो जवाफ दिनुअघि पौडेलले सत्ता पक्षले माओवादी केन्द्रसँग सल्लाह नगरी संविधान संशोधनका कुरा गरेको भन्दै माओवादीबिना संविधान संशोधन कुनै हालतमा नहुने चेतावनी दिए ।
एमाले र माओवादी केन्द्रका सांसदहरूले राजतन्त्रका ’बारेमा चर्काचर्की बहस गर्दै गर्दा राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा)ले राजासहितको प्रजातन्त्र आवश्यक रहेको जनाएको छ । राप्रपा अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले नेपालमा पूर्वराजालाई स्पेस दिनुपर्ने बताए ।
‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ,’ लिङ्देनले भने, ‘गणतन्त्रको विरोध गर्नु, प्रजातन्त्रको विरोध गर्नु हो भन्नेजस्तो अर्थमा यहाँ जुन कुरा राखियो । तपाईं गणतन्त्र लडेर ल्याएको होस् अथवा विदेशीको बुई चढेर ल्याएको होस्, त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रूपमा विरोध गरिरहन्छौं ।’
उनले गणतन्त्र लडेर ल्याएको भए पनि लुटतन्त्रमा परिणत भएकाले आफूहरूले निरन्तर रूपमा विरोध गरिरहने चेतावनीसमेत दिए ।
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा शाहलाई आउँदो २०८४ को निर्वाचनमा भाग लिन चुनौती दिइन् । सत्तामा नै आउने चाहना भए कसैको कृपाले सत्तामा फर्किन नसोच्न उनले आग्रह गरिन् ।






