वीरगन्ज l प्रत्येक वर्ष मार्च महिनामा मनाइने “ग्लोबल मनी वीक” यस वर्षपनि मनाइँदै छ ।
अभियानमा बचत, बजेट निर्माण, लगानी तथा ऋण व्यवस्थापन जस्ता महत्वपूर्ण वित्तीय विषयहरूमा कार्यशाला, विद्यालय कार्यक्रम र सामुदायिक कार्यक्रमहरू सञ्चालन गरिन्छ। यसको मुख्य उद्देश्य वित्तीय निर्णय क्षमताको विकास गर्दै दीर्घकालीन आर्थिक स्थिरता निर्माण गर्नु रहेको छ।
ग्लोबल मनी वीकले प्रत्येक वर्ष नयाँ विषयवस्तु समेट्दै वित्तीय समावेशीकरणलाई प्राथमिकता दिने नीति अवलम्बन गर्छ। यस वर्षको कार्यक्रमले वित्तीय साक्षरताको महत्त्वलाई अझ मजबुत बनाउने अपेक्षा गरिन्छ ।
यसै विषयमा रहेर मञ्जुश्री फाइनान्स वीरगन्ज शाखाका शाखा प्रबन्धक दिगम्बर थापासँग गरिएको कुराकानी
- “ग्लोबल मनी वीक” मनाउनुको मुख्य उद्देश्य के हो ?
“ग्लोबल मनी वीक” (Global Money Week) एक अन्तर्राष्ट्रिय अभियान हो, जसले वित्तीय साक्षरतालाई प्रवर्दधन गर्दै बालबालिका, युवा तथा आम नागरिकलाई वित्तीय व्यवस्थापनबारे सचेत गराउने लक्ष्य राख्छ। यस अभियानले आर्थिक निर्णय गर्ने क्षमतामा सुधार ल्याउने, बचत गर्ने बानी बसाल्ने, र दीर्घकालीन वित्तीय स्थिरताका लागि सचेतना फैलाउने काम गर्छ l
- वित्तीय साक्षरताको परिभाषा के हो, र यसको महत्त्व किन छ ?
वित्तीय साक्षरता भन्नाले व्यक्तिले आफ्नो आम्दानी, खर्च, बचत, लगानी, ऋण तथा जोखिम व्यवस्थापनसम्बन्धी ज्ञान र सीप हासिल गरी वित्तीय निर्णयहरु प्रभावकारी रूपमा लिन सक्ने क्षमता हो। यसको महत्त्व यस कारणले छ कि वित्तीय साक्षरताले व्यक्ति तथा समुदायलाई दिगो आर्थिक स्थिरता, दीर्घकालीन वित्तीय योजना, तथा ऋण तथा जोखिम व्यवस्थापनमा सक्षम बनाउँछ।
- वित्तीय साक्षरता किन आवश्यक छ, विशेष गरी नेपालजस्ता विकाशशील देशहरुमा?
वित्तीय साक्षरता व्यक्तिको आर्थिक स्थायित्व र समृद्धिको आधार हो। नेपालजस्ता विकासशील देशहरूमा धेरै नागरिकहरू अड़झै पनि वित्तीय सेवाबाट टाढा छन्। वित्तीय साक्षरताको अभावले गलत लगानी निर्णय, अत्यधिक ऋण लिने प्रवृत्ति, र बचतको अभावजस्ता समस्याहरु निम्त्याउँछ। यसकारण, आर्थिक सुरक्षाका लागि वित्तीय शिक्षा अनिवार्य छ।
- मञ्जुश्री फाइनान्स लिमिटेडले वित्तीय साक्षरताका लागि के-के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ?
हाम्रो संस्थाले विभिन्न विद्यालय, कलेज, तथा सामुदायिक समूहहरुलाई लक्षित गर्दै वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। हामीले ‘ग्लोबल मनी वीक अन्तर्गत वित्तीय योजना, बचत तथा लगानी, ऋण व्यवस्थापन, र डिजिटल बैंकिङको महत्वबारे विभिन्न सचेतना अभियान सञ्चालन गयौँ।
- हाल नेपालमा वित्तीय साक्षरताको अवस्था कस्तो छ?
नेपालमा वित्तीय साक्षरताको स्तर सुधारोन्मुख छ, तर अझै धेरै सुधारको आवश्यकता छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, अझै पनि ठूलो संख्यामा जनता बैंकिङ पहुँचभन्दा बाहिर छन्। विशेष गरी ग्रामीण भेगमा वित्तीय शिक्षा आवश्यक छ, जहाँ धेरै नागरिक वित्तीय संस्थाहरुका सेवाबाट बञ्चित छन् ।
- डिजिटल वितीय साक्षरताको आवश्यकता किन बढिरहेको छ?
प्रविधिको विकाससँगै डिजिटल भुक्तानी प्रणाली र अनलाइन बैंकिङको महत्त्व बढेको छ। तर, साइबर सुरक्षासम्बन्धी चेतनाको अभाव, डिजिटल ठगीका जोखिमहरु, र अनलाइन वित्तीय सेवाहरूको न्यून प्रयोग जस्ता चुनौतीहरु देखिन्छन्। त्यसैले, डिजिटल वित्तीय साक्षरताका लागि व्यापक सचेतना अभियान आवश्यक छ।
- विद्यालय र विश्वविद्यालयस्तरमा वित्तीय साक्षरतालाई कसरी समावेश गर्न सकिन्छ?
वित्तीय साक्षरतालाई औपचारिक शिक्षामा समावेश गर्नु आवश्यक छ। विद्यालयस्तरमै बचत, लगानी, बैंकिङ प्रणाली, बीमा, र ऋण व्यवस्थापनका आधारभूत जान प्रदान गरिनुपर्छ। मञ्जुश्री फाइनान्स लिमटेडले विभिन्न शैक्षिक संस्थाहरुसँग सहकार्य गरी वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।
- नेपालको युवा पुस्ताले वित्तीय योजना कसरी प्रभावकारी रूपमा अपनाउन सक्छ?
युवा पुस्ताले वित्तीय अनुशासन अपनाउनु अति आवश्यक छ। नियमित बचत गर्ने, अनावश्यक खर्च कटौती गर्ने, लगानीबारे जान हासिल गर्ने, र ऋण व्यवस्थापनमा ध्यान दिने बानी बसाल्नुपर्छ। डिजिटल वित्तीय सेवाहरूको सही प्रयोग गरेर युवा पुस्ताले आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न सक्छ।
- नेपालमा वितीय साक्षरताका लागि सरकार र वित्तीय संस्थाहरुबीचको समन्वय कस्तो देखिन्छ?
नेपाल राष्ट्र बैंक अर्न्तर्गतका क ख ग तथा घ वर्गका सम्पूर्ण वित्तीय संस्थाहरु मिलेर वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। सरकारी नीतिहरूले वित्तीय पहुँच विस्तार गर्न प्रयास गरिरहेका छन्, तर अड़झै पनि ठोस नीति निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक छ।
- मञ्जुश्री फाइनान्सले आगामी वर्षहरूमा वित्तीय साक्षरताका क्षेत्रमा के-कस्ता नयाँ पहलहरू ल्याउने योजना बनाइरहेको छ?
हामी वित्तीय साक्षरताका लागि अझै प्रभावकारी कार्यक्रमहरू ल्याउने तयारीमा छौं। डिजिटल प्लेटफर्महरूमार्फत वित्तीय शिक्षा प्रदान गर्ने, ग्रामीण क्षेत्रका नागरिकहरुलाई लक्षित गरी वितीय साक्षरताका कार्यक्रम सञ्चालन गर्ने, तथा युवा लक्षित वित्तीय व्यवस्थापन तालिमहरु सञ्चालन गर्ने योजना बनाइरहेका छौं।
- वित्तीय साक्षरताको सन्देशलाई आम नागरिकसम्म पुऱ्याउन तपाईंको सुझाव के छ?
वितीय साक्षरतालाई घर-घरमा पु-याउन सरकार, वित्तीय संस्थाहरु, शैक्षिक संस्थाहरु, तथा सञ्चार माध्यमहरूबीच सहकार्य आवश्यक छ। हरेक नागरिकले वितीय अनुशासन अपनाउनुका साथै आफ्ना परिवार र समुदायलाई वितीय शिक्षामा संलग्न गराउनुपर्छ। वितीय स्थायित्वका लागि सचेतनासँगै व्यवहारिक कार्यान्वयन पनि महत्वपूर्ण छ।






