वीरगन्ज । वीरगन्जको मुख्य सडक बारे परेको मुद्दा सर्वोच्चले खारेज गरेपछि सडक फराकिलो हुने नहुने बारे चर्चा चलिरहेको बेला सडक डिभिजन हेटौंडाले नापी कार्यालय पर्सालाई पत्र पठाएको छ ।
वीरगन्ज महानगरपालिकाको सभाहलमा गत ५ गते बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न पत्रमा उल्लेख गरिएको छ ।
सडक डिभिजन कार्यालयले त्रिभुवन राजपथको गण्डकचोक- पावर हाउस चोक घण्टाघर-वीर्ता-रजत जयन्ती चोक-मितेरी पुल सम्मको सडक सीमा (२५/२५ मि.) को क्षेत्र सीमाङ्कन गरी सडक सम्पति संरक्षण गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।
डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीद्वारा हस्ताक्षरित पत्र जारी भएपछि वीरगन्जबासीमा सडक चौडा हुने सपना पलाएको छ । तथापि सडकको छेउमा पर्ने घर तथा व्यवसाय सञ्चालकहरुले विरोध जनाइरहेका छन् ।



