Categories एजेन्सी

पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु

इस्लामाबाद । पाकिस्तानभर केएफसीविरुद्ध जारी प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ । प्रहरीले प्रदर्शनका क्रममा दर्जनौँलाई पक्राउ समेत गरेको छ ।

गाजामा जारी युद्धबाट क्रुद्ध बनेका प्रदर्शनकारीहरूले केएफसीलाई बहिस्कार गर्नुपर्ने भन्दै अभियान चलाइरहेका छन् । यो अमेरिका र उसको सहयात्री इजरायलको प्रतीक भएको उनीहरूको भनाई छ ।

Advertisement

पछिल्लो एक हप्तामा पाकिस्तानमा केएफसीका फ्रेन्चाइजीहरूमा कम्तीमा २० वटा आक्रमणका प्रयासहरू भएको पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले बताए ।

Advertisement

सामाजिक सञ्जालमा भाइरल बनेका भिडियोहरूमा प्रदर्शनकारीहरू फलामको रडसहित केएफसी स्टोरहरूमा प्रवेश गरेर त्यसलाई जलाउने धम्की दिएको देख्न सकिन्छ । पछि, प्रहरी आएर उनीहरूलाई पक्राउ गरेका थिए । कराचीमा भने दुईवटा केएफसी स्टोरमा आगजनी नै भएका छन् ।

केएफसीबाट आम्दानी भएको पैसाले गाजा युद्धका लागि गोला बारुद खरिद भइरहेको प्रदर्शनकारीहरूको आरोप छ । तर, हिंसाको विरोध गर्दै राज्यमन्त्री चौधरीले पाकिस्तानमा केएफसीका मालिक स्थानीय भएको र यसको नाफा पाकिस्तानमा नै रहने बताए ।

एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा मारिनेमा ४५ वर्षीय आसिफ नवाज रहेका छन् । उनी केएफसीका कर्मचारी थिए । लाहोर सहर नजिक रहेको सेखुपुरामा भएको प्रदर्शनका क्रममा उनलाई गोली लागेको थियो । 

नवाज केएफसीको भान्सामा काम गरिरहेको बेला पेस्तोलबाट प्रहार गरिएको गोली लागेको प्रहरी अधिकारी अथर इस्माइलले जानकारी दिए। यस घटनाका मुख्य आरोपी अझै फरार भए पनि घटनामा संलग्न कम्तीमा ४० जनालाई प्रहरीले पक्राउ गरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *