Categories समाचार

पर्सामा अब चार केन्द्रबाट राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा दिइने

Advertisement

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी वैशाख १४ गतेदेखि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र सम्बन्धित सेवाहरू चार केन्द्रहरूबाट दिने भएको छ ।

विगतमा केही दिनदेखि राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीहरूको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीहरूको सुविधा र सहजतालाई ध्यानमा राखेर आइतबारदेखि जिल्ला प्रशासन कार्यालयले चार वटा सेवा केन्द्रहरूबाट सेवा उपलब्ध गराउने भएको हो ।  

Advertisement

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले शुक्रवार एउटा सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानीय तहका सेवाग्राहीका लागि अब राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवाहरू तोकिएका विभिन्न स्थानहरूबाट उपलब्ध हुने जनाएका हुन् ।

Advertisement

कार्कीले जिल्लाको विन्दवासिनी गाउँपालिका, पर्सागढी गाउँपालिका, बहुदरमाई नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले राष्ट्रिय परिचय पत्र सम्बन्धी सम्पूर्ण सेवाहरू जिल्ला प्रशासन कार्यालय पर्साबाट नै प्राप्त गर्ने बताए । 

त्यस्तै जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकाका सेवाग्राहीले इलाका प्रशासन कार्यालय सुपौलीबाट सेवा प्राप्त गर्ने र वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण वडाका सेवाग्राहीले वीरगञ्ज महानगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्राप्त गर्ने कार्कीले जानकारी दिए ।

यस्तै पोखरीया नगरपालिका, छिपहरमाई गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका, धोनिवी गाउँपालिका र कालिकामाई गाउँपालिकाका सेवाग्राहीहरूले पोखरिया नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्राप्त गर्ने उनले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट तोकिएका स्थानीय तहहरू बाहेकका स्थानीय तहका सेवाग्राहीहरूका लागि सेवा उपलब्ध नहुने पनि उनले स्पष्ट पारे ।

सहायक प्रमुख जिल्ला अधिकारीले कार्कीले चार केन्द्रहरूबाट राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा विस्तार गर्दा सेवाग्राहीहरूले थप सहज र प्रभावकारी ढङ्गबाट सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, “हामीले विगतमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पनि सेवा दिने प्रयास गर्‍यौँ, तर सेवाग्राहीको चाप बढेपछि सेवा केन्द्रहरू विस्तार गर्ने निर्णय गरेका हौँ ।”

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाउने सरकारी नीतिअनुरूप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय प्रशासनले आवश्यक तयारी गरेको जनाइएको छ । सेवाग्राहीहरूलाई तोकिएको स्थान र समयमा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *