वीरगञ्ज । आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सुरु हुनेछ भने दिउँसो सवा १ बजे बस्ने गरी राष्ट्रियसभाको बैठक बोलाइएको छ ।
आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची तय गरिएको छ ।
त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्नेछन् ।






