Categories खेलकुद

पब्लिक फिटनेसद्वारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

Advertisement

वीरगञ्ज । वीरगञ्जको लिंकरोडस्थित पब्लिक फिटनेसले एक भव्य स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्दै स्थानीय खेलाडीहरूलाई सम्मानित गरेको छ। खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यसहित सम्पन्न कार्यक्रममा विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेका खेलाडीहरूको उल्लेखनीय उपस्थिति रह्यो।

कार्यक्रमकी प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य नन्दा बस्यालले खेलाडीहरू शारीरिक तथा मानसिक रूपमा सक्षम र तयार रहेको उल्लेख गर्दै खेललाई राष्ट्रिय पहिचान र अर्थतन्त्रसँग जोड्न सकिने धारणा व्यक्त गरिन्। उनले वीरगञ्ज क्षेत्रबाट कबड्डी, कुस्ती र क्रिकेटजस्ता खेलहरूमा राष्ट्रियस्तरका प्रतिभा उत्पादन भइरहेकामा खुसी व्यक्त गरिन्।

Advertisement

मधेश प्रदेशका खेलकुद सचिव शिवजी गुप्ताले खेलाडीहरूलाई हरसम्भव सहयोग गर्ने प्रदेश सरकारको तयारी रहेको जानकारी दिए। उनले आफ्नै खेलकुद यात्रा सुनाउँदै तेक्वान्दो खेलमा सन् २०२३ मा कोरियाबाट र २०२४ मा अफ्रिकाको न्यूजसीमा आयोजित प्रतियोगिताबाट स्वर्ण पदक जितेको स्मरण गराए।

Advertisement

गुप्ताले आफूले भोगेका कठिनाइहरू उल्लेख गर्दै भने, “पुरस्कार लिन जाँदा खल्तीमा पैसा थिएन, तर अहिले पनि निरन्तर प्रतिस्पर्धामा छु। निरन्तरता नै सफलता हो।” उनले युवाहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चिनाउन प्रेरित गरे।

कार्यक्रममा आयोजक तथा पब्लिक फिटनेसका सञ्चालक करण यादवले वीरगञ्जलाई खेलकुदको केन्द्र बनाउने उद्देश्यसहित यो सम्मान कार्यक्रम आयोजना गरिएको बताए। उनले वीरगञ्जका खेलाडीहरूले स्थानीय स्तरमै होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान बनाइरहेका बताउँदै यस्ता कार्यक्रमले थप उत्साह थप्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा समाजसेवी प्रमिला देवी, नाजिर हुसैन, श्याम सर्राफ, सञ्चारकर्मी सन्तोष कुशवाहा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिवनाथ यादवले गरेका थिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *