Categories समाचार

होटलमा सँगै रात बिताउने बहानामा हनीट्रयाप, साढे ३ लाख लुट्ने ८ जना पक्राउ

Advertisement

काठमाडौं । राजधानीको कलंकीस्थित एक होटलमा दुई युवकमाथि योजनाबद्ध रूपमा लुटपाट र डकैतीको घटना भएको छ । आफूलाई प्रहरी दाबी गर्दै डरत्रास देखाएर नगदसहित लाखौं रुपैयाँ लुटेको आरोपमा दुई युवतीसहित आठ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कलंकीस्थित होटल मेन्सको कोठा नम्बर ४०२ मा युवतीमार्फत झुक्याई लगिएका दुई युवकमाथि छ जना पुरुषले नक्कली प्रहरी बनेर धाकधम्की दिएका थिए । पीडितको भनाइअनुसार, ती व्यक्तिहरुले विभिन्न मुद्दामा फसाइदिने तथा बोले वा कराए ज्यान लिने धम्की दिंदै ३ लाख ६३ हजार रुपैयाँ माग गरेका थिए । डरले पीडितहरूले साथमा रहेको नगद र बैंक खाताबाट रकम झिकेर बुझाएका थिए ।

Advertisement

तर पछि ती ‘प्रहरी’ वास्तवमा नक्कली भएको थाहा पाएपछि पीडितले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा डीएसपी रोशन खड्काको नेतृत्वमा अनुसन्धान टोलीले घटनामा संलग्न आठ जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा नवलपरासीको देवचुली घर भएका सन्दीप परियार, चितवनको भरतपुर घर भएका २५ वर्षीय सन्दीप बिक, २५ वर्षीय अतीत क्षेत्री, २२ वर्षीय बादल तामाङ, गैँडाकोट घर भएका अनीश केसी, चितवनकै विवेक मल्ल ठकुरी, लमजुङ घर भएकी सक्रिया खनिया र सुनसरी घर भएर कपन बस्ने कविता राई छन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट ५२ हजार रुपैयाँ नगद, विभिन्न कम्पनीका ९ वटा मोबाइल फोन र एउटा मोटरसाइकल पनि बरामद गरेको जनाएको छ । प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार, पक्राउ परेकालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *