वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकामा अनियमितता सम्बन्धी समाचार प्रसारणपछि प्राइम टेलिभिजन, यात्रा डेली डटकम र वीरगञ्ज सिटी डटकममा क्यामरा पर्सन राजु बैठालाई स्थानीय समूहले दिएको धाकधम्की र गालीगलौजप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।
वीरगञ्ज सिटी डट कममा सार्वजनिक गरिएको ‘विश्रामपुर गाउँपालिकामा मिलेमतोमा अनियमितता, एकातर्फ तटबन्धन निर्माण अर्कोतर्फ ५/५ फिट माटो खनेर बिक्री’ शीर्षकको भिडियो रिपोर्टलाई लिएर स्थानीय टइट यादवसहितको समूहले पत्रकार बैठालाई गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिएको जानकारी प्राप्त भएको महासंघले जनाएको छ।
नेपाल पत्रकार महासंघ, पर्सा शाखाका सचिव विजयकुमार महतोद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रसारित समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो अपनाउन सकिन्छ। तर पत्रकारलाई शारीरिक आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण हो र यसको हामी घोर भर्त्सना गर्दछौँ।”
महासंघले पत्रकारको सुरक्षालाई सुनिश्चित गर्न तथा दोषीमाथि तत्काल कानूनी कारबाही गर्न सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ। साथै, प्रेस स्वतन्त्रता र पत्रकारको आत्मसम्मान जोगाउन सरोकारवाला सबै पक्ष जिम्मेवार बन्नुपर्ने आग्रह समेत गरिएको छ।
यो घटनाले पुनः एक पटक पत्रकारहरू जोखिमपूर्ण वातावरणमा कार्यरत छन् भन्ने यथार्थ उजागर गराएको महासंघले उल्लेख गरेको छ।






