वीरगञ्ज । मधेश क्रिकेट लिगको फाइनल खेल सफलतापूर्वक सम्पन्न भएपछि वीरगञ्ज महानगरपालिकाले नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरुको सम्मानमा रात्रिभोज तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, व्यवस्थापक विनोद दास, राष्ट्रिय टोलीका पूर्व कप्तानहरू तथा विभिन्न खेल क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
सो अवसरमा क्यानका सचिव पारस खड्काले वीरगञ्ज महानगरपालिकालाई “महानगर कप” को पहिलो संस्करण यही मञ्चबाट सुरु गर्न आग्रह गरे। उनका अनुसार नेपालको ६ वटा महानगरपालिकामा पत्र पठाइएको भए पनि वीरगञ्जबाट उक्त प्रतियोगिता सुरु हुने अपेक्षा नेपाल क्रिकेट संघले गरेको छ।
उनले महानगर कपको प्रारम्भिक परिकल्पना केही महिनाअघि मेयर राजेशमान सिंहको कार्यकक्षमा बसेको बैठकमा गरिएको स्मरण गराउँदै यसलाई यथार्थमा उतार्न वीरगञ्ज महानगर अग्रसर हुने विश्वास व्यक्त गरे।
सचिव खड्काले नारायणी रंगशालामा क्रिकेट ग्राउन्ड निर्माण तथा पूर्वाधार सुधारमा मेयर सिंहले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद ज्ञापन गरे। उनले सो मैदानमा युवा खेलाडीले अभ्यास गर्दै आफ्नो प्रतिभा देखाई राष्ट्रिय टोलीसम्म पुग्ने आशा पनि व्यक्त गरे।
क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले वीरगञ्ज महानगर सधैं खेलकुदमैत्री रहेको बताउँदै, “क्रिकेटका लागि जुनसुकै आवश्यकतामा कहिल्यै मेयरसाबले ‘नाइँ’ भन्नुभएन,” भन्दै कृतज्ञता व्यक्त गरे। यति ठूलो प्रतियोगिता सम्पन्न भएको अवसरमा मेयर सिंह स्वयंले रात्रिभोज तथा सम्मान कार्यक्रमको आयोजना गर्नु निकै प्रशंसनीय रहेको उनले उल्लेख गरे।
कार्यक्रममा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले महानगर सधैं खेल र खेलाडीको साथमा रहेको पुनः दोहोर्याए। उनले क्रिकेट ग्राउन्डमा सुधार देखिए पनि अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पार्दै सचिव खड्कासहितको टोलीलाई वीरगञ्जलाई माया गर्न आग्रह गरे। उनले वीरगञ्जका खेलप्रेमी युवाहसँग आफ्ना अनुभव बाँडेर उनीहरूलाई राष्ट्रिय टोलीसम्म पुर्याउन प्रेरित गर्न अनुरोध गरे।
मेयर सिंहले आफ्नो मन्तव्यमा भने, “गर्ने मान्छेमाथि कुरा उठ्छ, तर डराएर होइन, दृढ संकल्पका साथ अघि बढ्ने हो।” उनले २०८२ सालभित्रै ‘महानगर कप’ आयोजना गर्ने स्पष्ट लक्ष्य लिएको जानकारी दिँदै, त्यसको तयारी र कार्यान्वयन प्रक्रिया अघि बढाउन नेपाल क्रिकेट संघ पर्सालाई आग्रह गरे।






