Categories समाचार

नारायणी अस्पतालमा सर्ट सर्किटले आइसियु सेवा अवरुद्ध, विद्युत इन्चार्ज निलम्बन

Advertisement

वीरगञ्ज । नारायणी अस्पतालको आइसियु तथा सिसिसियु वार्डमा शुक्रबार राति विद्युत सर्ट सर्किटका कारण करिब तीन घण्टासम्म सेवा अवरुद्ध हुँदा १७ जना गम्भीर अवस्थाका बिरामीको ज्यान जोखिममा परेको छ।

उक्त घटनापछि अस्पताल विकास समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। समितिका अध्यक्ष धिरजकुमार गुप्ताले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “विद्युत आपूर्ति अवरुद्ध हुँदा जीवनरक्षक उपकरणहरू बन्द भएका कारण बिरामीहरू स्वास्थ्य संकटमा परे। तत्काल वैकल्पिक उपायमार्फत सेवा सञ्चालन गर्ने प्रयास गरिए पनि यस्तो लापरवाही कुनै हालतमा स्वीकार्य छैन।”

Advertisement

अस्पताल प्रशासनको लापरवाहीलाई गम्भीर रुपमा लिँदै सम्बन्धित कर्मचारीमाथि कारबाही प्रक्रिया सुरु गरिएको छ। घटनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. चित्तरन्जन साह, विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख लगायत सरोकारवाला निकायहरूको बैठक बसेको थियो।

Advertisement

बैठकमा रातिको घटनाबारे गम्भीर छलफल गर्दै अस्पताल प्रशासनले ड्युटिमा रहेका इलेक्ट्रीसियन इन्चार्ज सञ्जिव गुप्तालाई तत्काल निलम्बन गर्ने निर्णय गरेको छ। साथै, उनीविरुद्ध आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको अध्यक्ष गुप्ताले जानकारी दिएका छन्।

समितिले यस्ता घटना दोहोरिन नदिन तत्काल सुधारात्मक कदम चालिने र अस्पतालको विद्युत व्यवस्थापन प्रणालीलाई सुरक्षित तथा भरपर्दो बनाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *