वीरगन्ज । पर्सा जिल्लाको भेडियाहीस्थित नेशनल मेडिकल कलेज र वीरगन्ज महानगरपालिकाका १३ वटा वडाहरूबीच स्वास्थ्य सेवा तथा उपचार सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।
बुधबार कलेजको सभा हलमा सम्पन्न एक समारोहबीच नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी र महानगरपालिकाका १३ वडाका वडा अध्यक्षहरूबीच औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार नेशनल मेडिकल कलेजले निम्न स्वास्थ्य सेवाहरूमा छुट प्रदान गर्नेछ:
ओपिडी टिकटमा २५ प्रतिशत
सामान्य बेड शुल्कमा १५ प्रतिशत
आइसियु, एनआइसियु र पीआइसियु बेड शुल्कमा ५ प्रतिशत
सामान्य, लेप्रोस्कोपिक र इन्डोस्कोपिक शल्यक्रियामा ८ प्रतिशत
पाथोलोजी परीक्षणहरूमा १० प्रतिशत
भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, इन्डोस्कोपीमा ७ प्रतिशत
सिटी स्क्यान र एमआरआई सेवामा ७ प्रतिशत
ओपिडी फार्मेसीमा १० प्रतिशत र आईपिडी फार्मेसीमा १५ प्रतिशत छुट प्रदान गरिनेछ
उपरोक्त छुट सेवा पाउनका लागि सम्बन्धित व्यक्तिले आफ्नै वडा कार्यालयको लेटरप्याडमा सिफारिस पेश गर्नु पर्नेछ।
त्यस्तै, सम्झौता अनुसार नेशनल मेडिकल कलेजले प्रत्येक तीन महिनामा १३ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै रक्तदान कार्यक्रमको आयोजना गर्नेछ।
सम्झौता एक वर्षसम्म लागू हुनेछ र आवश्यक परेमा दुवै पक्षको सहमतिमा संशोधन, थप वा घट गर्न सकिनेछ भन्ने जानकारी कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले दिए।
सम्झौता कार्यक्रममा वीरगन्ज महानगरपालिकाका अधिकांश वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। उनीहरूले आजको दिनलाई ऐतिहासिक दिनको रूपमा लिँदै सम्झौता मार्फत गरिब, असहाय तथा सर्वसाधारण जनताले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे।
सो अवसरमा अस्पतालकी निर्देशक डा. ईसरत जहान अन्सारीले पनि सम्झौताले सहरदेखि गाउँसम्मका जनताले गुणस्तरीय सेवा सहज रूपमा प्राप्त गर्ने आशा व्यक्त गरिन्।
कार्यक्रममा अस्पतालका मार्केटिङ तथा एडमिशन डाइरेक्टर आबिद हुसेन, एकेडेमिक डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, कलेजका प्रधानाध्यापक प्रा. डा. के.एन. सिंह, सञ्चारकर्मीहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।







ward no.1 chhaina ki kya ho ???