Categories समाचार

सुनचाँदीमा नयाँ कर प्रणालीले व्यवसाय धरापमा, व्यवसायीहरू आक्रोशित

Advertisement

वीरगञ्ज । चालु आर्थिक वर्षदेखि लागू गरिएको नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) संरचनाप्रति पर्सा जिल्लाका सुनचाँदी व्यवसायीहरूले तीव्र असन्तोष व्यक्त गरेका छन्। पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालीगढ संघले संयुक्त वक्तव्य जारी गर्दै, उक्त कर प्रणालीले व्यवसाय मात्र होइन, आम उपभोक्ताको जीवनमै गहिरो असर पार्ने स्पष्ट पारेका छन्।

संघद्वयको अनुसार, अघिल्ला वर्षहरूमा १० लाख रुपैयाँभन्दा माथिका गरगहनामा मात्र लाग्ने विलासिता कर हटाएर अब सबै मूल्यका गरगहनामा २ प्रतिशत भ्याट लागु गरिएको छ। साथै, हिरा वा अन्य बहुमूल्य पत्थर जडित गरगहनामा १३ प्रतिशत भ्याट तोकिएको छ। यो व्यवस्था आम जनताको आर्थिक भार थप्ने अन्यायपूर्ण निर्णय भएको व्यवसायीहरूको आरोप छ।

Advertisement

“सुनचाँदी केवल सजावटको वस्तु होइन, यो नेपाली समाजको परम्परा, संस्कृति र सामाजिक सम्बन्धसँग गहिरो रूपमा गाँसिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यसमा करको यस्तो बोझले सर्वसाधारणको बचत, लगानी र सामाजिक परम्परालाई नै क्षति पुर्‍याउनेछ।”

Advertisement

व्यवसायीहरूले नेपालमा सुनचाँदीको मूल्य छिमेकी भारतको तुलनामा अत्यधिक महँगो रहेको उल्लेख गर्दै, यो अवस्थामा नयाँ करले तस्करी, चोरी पैठारी र अवैध कारोबारलाई प्रोत्साहन गर्ने चेतावनी दिएका छन्। उनीहरू भन्छन्, “अहिले नै सुनको मूल्य उच्च छ, बजार मन्दीमा छ, यस्तोमा थप करले बजार गतिविधिमा झनै गिरावट ल्याउने निश्चित छ।”

संघको धारणा छ कि करको यस्तो बोझले लाखौँ सुनचाँदी व्यवसायी, कालीगढ तथा मजदुरको जीविकोपार्जन संकटमा पार्नेछ। “सरकारको नीति दीर्घकालीन रूपमा सुनचाँदी उद्योगको जग कमजोर बनाउने खालको देखिन्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ, “त्यसैले यो निर्णय तत्काल पुनरावलोकन गरिनु आवश्यक छ।”

सरकारको नयाँ कर नीतिसँगै सुनचाँदी उद्योगको भविष्य र त्यसको सामाजिक प्रभावबारे बहस चर्कंदो छ। व्यवसायीहरूले सरकारसँग तत्काल संवाद र समन्वयमार्फत व्यवहारिक समाधान खोज्न आह्वान गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *