वीरगंज । वीरगंज महानगरपालिकाको दीर्घकालीन खानेपानी तथा ढल व्यवस्थापन समस्याको समाधानका लागि सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा एक उच्चस्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा एसियाली विकास बैंक (ADB) को सहयोगमा सञ्चालन गरिने खानेपानी आयोजनाहरूको कार्यान्वयन रणनीतिबारे गहिरो छलफल गरिएको थियो।
कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादव, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, मन्त्रालयका उच्च अधिकारीहरू, प्रविधिक विज्ञहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
छलफलपछि मन्त्री प्रदीप यादवले भने, “वीरगंजको खानेपानी समस्या अब प्राथमिकताको शीर्षमा छ। योजना बनाउने मात्र होइन, कार्यान्वयनमा देखिने समय आएको छ। साउन महिनाभित्रै आवश्यक प्राविधिक तथा वित्तीय प्रक्रियाहरू पूरा गरी टेण्डर आह्वान गरिनेछ। यो सरकारको प्रतिबद्धता हो।”
नगर प्रमुख राजेशमान सिंहले थप्दै भने, “हाम्रो लक्ष्य वीरगंजवासीलाई स्वच्छ, सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउनु हो। आजको छलफलले योजनाहरूलाई कार्यान्वयनको बाटोमा ल्याएको छ। जनताको अपेक्षालाई सम्बोधन गर्न हामी जस्तोसुकै चुनौती सामना गर्न तयार छौं।”
कार्यक्रममा प्रस्तुत योजनाअनुसार, वीरगंजमा प्रस्तावित १२ खानेपानी आयोजनामध्ये पहिलो चरणमा ६ आयोजनाको तत्काल कार्यान्वयन सुरु गरिनेछ। बाँकी आयोजनाहरू पनि चरणबद्ध रूपमा अघि बढाइनेछन्। यसका लागि सम्बन्धित सबै निकायबीच समन्वयलाई अझ प्रभावकारी बनाउने सहमति भएको छ।
कार्यक्रमको समापनमा सहभागी सबैले सहकार्य, पारदर्शिता र परिणाममुखी कार्यशैलीमार्फत वीरगंजको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने साझा अठोट व्यक्त गरे।






