वीरगन्ज । बेतिया जिल्लाको शिकारपुर थाना अन्तर्गत प्रकाश नगरमा एक २६ वर्षीया विवाहिता महिलाको शंकास्पद मृत्यु भएपछि स्थानीय क्षेत्र स्तब्ध भएको छ।
मृतक प्रिया कुमारी उर्फ भारतीको मृत्यु विद्युतीय करेन्ट लागेर भएको दाबी गरिए पनि उनकी आमाले दाइजोको लागि हत्या गरिएको आरोप लगाएकी छन्।
प्रिया कुमारीको विवाह १४ महिनाअघि प्रकाश नगर निवासी आशिष उर्फ राजासँग प्रेम सम्बन्धपछि भएको थियो। मृतककी आमा सरोज देवीका अनुसार छोरीको वैवाहिक जीवन सुरुदेखि नै पीडादायक रह्यो।
उनका भनाइ अनुसार ससुराली पक्षले निरन्तर दस लाख रुपैयाँ नगद र दुई धुर जग्गाको माग गर्दै प्रियालाई मानसिक तथा शारीरिक रूपमा यातना दिँदै आएका थिए।
मंगलबार दिउँसो अचानक करेन्ट लागेको भनिँदै प्रियालाई एक निजी अस्पतालमा पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि बेतियास्थित पीएमसीएच रेफर गरिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि ससुरा जुना प्रसाद र सासू किरण देवी फरार भएका छन् भने उनीहरू हाल नेपालको वीरगञ्जस्थित आफन्तको घरमा लुकेर बसेको दाबी गरिएको छ। मृतकका पति आशिष गुप्ता भने भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको छ।
शिकारपुर प्रहरी चौकीका प्रमुख अवनीश कुमारका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र रिपोर्टपछि मात्रै मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ।
यद्यपि मृतक पक्षबाट प्रहरीमा औपचारिक उजुरी दर्ता गरिसकिए पनि अनुसन्धानको गति ढिलो भएको परिवारको गुनासो छ।




