मधेश टुरिजम मिट २०२५ मा सिंहद्वारा गुनासो र आशावादी सन्देश
वीरगन्ज । वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले मधेश टुरिजम मिट २०२५ आयोजना गरिएकोमा आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको प्रभावकारिता प्रति चिन्ता व्यक्त गरेका छन् ।
वीरगन्जस्थित कलार्क रिसोर्टमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सिंहले पाहुनालाई ल्याएर खाना खुवाएर हतारमा कार्यक्रम टुंग्याउने प्रवृत्ति प्रति गुनासो गरे ।
उनले भने, “यदि कम्तीमा दुई दिन घुम्ने गरी कार्यक्रम बनाइएको भए पाहुनाहरूले वीरगन्जको वास्तविकता बुझ्न सक्थे, धार्मिक र ऐतिहासिक स्थल भ्रमण गर्न सक्थे, हामी आतिथ्य सत्कारका लागि सधैं तत्पर थियौं ।”
उनले वीरगन्जलाई पहिले केवल बाटो र व्यवसायको केन्द्रको रूपमा मात्र प्रयोग गरिएको भएपनि अहिले यो सहर परिवर्तनको बाटोमा अगाडि बढिरहेको दाबी गरे । “वीरगन्जमा यस्ता कैयौं स्थलहरू छन् जहाँ पाहुना सजिलै दुई दिन बसेर रमाउन सक्छन्,” सिंहले उल्लेख गरे ।
सिंहले नेपालको एक मात्र १ सय ३७ वर्ष पुरानो नृसिंह भगवानको मन्दिर वीरगन्जमा रहेको जानकारी गराउँदै, यस्तो महत्वपूर्ण धार्मिक सम्पदालाई समेत पर्यटन बोर्डको नजर नपरेकोप्रति दुःख व्यक्त गरे ।
उनले भने, “पर्यटन बोर्डको चासो काठमाडौं, पोखरा र चितवनमा मात्रै सीमित देखिन्छ । तर पर्सा राष्ट्रिय निकुञ्जजस्तो वन्यजन्तु सफारीको उपयुक्त गन्तव्य देशमै कम छन् । यस्ता क्षेत्रको प्रचारप्रसार हुन नसक्नु चिन्ताको विषय हो ।”
नगरप्रमुख सिंहले अन्य पालिका प्रमुखहरूले आफ्नो क्षेत्रका बारेमा मात्रै बताए पनि वीरगन्ज महानगरपालिकाले तयार पारेको ‘मुकाम किताब’ मार्फत वीरगन्ज सहित पर्सा, बारा र रौतहट जिल्लाका धार्मिक, पौराणिक र ऐतिहासिक स्थलहरूको विस्तृत विवरण प्रस्तुत गरिएको जानकारी गराए ।
उनले आफ्नो प्रयास र योजनाको परिणामस्वरूप वीरगन्ज अब वैभवपूर्ण र सम्भावनायुक्त सहर बन्दै गएको विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।









