Categories समाचार

३ सय १९ केजी चरेशसहित ट्रक र चालक वीरगञ्जमा पक्राउ

Advertisement

वीरगञ्ज । काठमाण्डौबाट वीरगञ्जतर्फ आउँदै गरेको एक मालवाहक ट्रकबाट ठूलो मात्रामा लागुऔषध चरेशसहित ट्रक, नगद र चालक पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त टोलीले असार ११ गते साँझ करिब साढे ७ बजे वीरगञ्ज महानगरपालिका–२१, परवानीपुर चोकस्थित सडकखण्डमा प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रक जाँच गर्दा उक्त परिणामको चरेश बरामद भएको हो।

Advertisement

प्रहरीका अनुसार, ट्रकको सामान बोक्ने भागमा सेतो प्लास्टिकको बोराभित्र लुकाइएको अवस्थामा चरेशका १३ पोका फेला परेका छन्। तौल गर्दा कुल ३ सय १९ के.जी. चरेश बरामद भएको छ।

Advertisement

सो ट्रक चलाइरहेका चालक मकवानपुर जिल्लाको थाह नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइएको छ। जाँचको क्रममा उनले लगाएको हाफ पाइन्टको खल्तीबाट नेपाली नगद रू. १ लाख ९२ हजार समेत फेला परेको प्रहरीले जनाएको छ।

बरामद चरेश, नगद, ट्रक र मोबाइलसहित स्याङ्तानलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालका अनुसार लागुऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी तथा अनुसन्धान जारी रहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *