वीरगन्ज। स्वास्थ्य कार्यालय पर्साका एक अधिकृतद्वारा पत्रकारमाथि गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण गराएको छ।
महासंघका अनुसार असार २२ गते एक कार्यक्रमको सिलसिलामा स्वास्थ्य कार्यालय पर्साले सञ्चालन गरिरहेको तालिमस्थलमा पुगेका महासंघका कार्यसमिति सदस्य आरोहणकुमार साहसहित पत्रकारहरू राजु बैठा, राकेशकुमार साह, सन्तोषकुमार कुशवाह, अर्जुन चौधरी, आनन्दकुमार पटेल लगायतलाई स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अपशब्द प्रयोग गर्दै गालीगलौज र दुर्व्यवहार गरेका थिए।
घटनाप्रति आपत्ति जनाउँदै महासंघले तत्काल दोषी अधिकारीमाथि कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराइसकेको जनाएको छ।
महासंघका सचिव विजयकुमार महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रहरी प्रशासनका जिल्लास्थित उच्च अधिकारीहरूले घटनामा संलग्न स्वास्थ्य अधिकृतविरुद्ध विश्वासिलो रूपमा कारबाही नगरेको देखिँदा प्रहरीको भूमिकामै सन्देह उत्पन्न भएको छ।”
पत्रकारहरूमाथि दुर्व्यवहारजस्तो गम्भीर घटनालाई नजरअन्दाज गर्न नसकिने भन्दै महासंघले दोषीमाथि तत्काल कानुनी कारबाही नगरे संघर्षको कठोर कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ।






