वीरगञ्ज । हालैको खडेरीका कारण मधेशका विभिन्न जिल्लाहरू—पर्सा, बारा, रौतहट लगायतका क्षेत्रमा गम्भीर रूपमा खानेपानी अभाव सिर्जना भएको छ। लगातारको सुख्खा मौसमले तराई–मधेसमा अधिकांश चापाकलहरू सुक्दै गएपछि जनजीवन अत्यन्त कष्टकर बनेको छ।
यही प्राकृतिक विपत्तिका सन्दर्भमा खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जका विभिन्न प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनपछि मन्त्री यादवले पर्सा, बारा लगायतका जिल्लाका बस्तीहरूमा हालसम्म २ सय ३७ भन्दा बढी डिप बोरिङ गरिसकिएको जानकारी दिनुभयो। उहाँले आगामी आर्थिक वर्षको सुरुवातसँगै यो अभियानलाई थप तीव्र गतिमा अघि बढाइने बताउनुभयो।
मन्त्री यादवले तत्काल राहतका साथै दीर्घकालीन समाधानका लागि एसियाली विकास बैंकको सहयोगमा ४.५ अर्ब रुपैयाँ लागतमा सञ्चालनमा रहेको “वीरगञ्ज बृहत् खानेपानी आयोजना”लाई द्रुत गतिमा अगाडि बढाइने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यो कठिन परिस्थितिमा जनसमुदायलाई धैर्य रहन हार्दिक अनुरोध गर्दछु। सबैको सहकार्य र समन्वयबाट मात्र यस पानी संकटको समाधान सम्भव छ।”
साथै, उहाँले प्रदेश तथा स्थानीय सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी निकायहरूलाई सहकार्य र सहयोगका लागि अपिल गर्दै भन्नुभयो, “विपत्तिको बेला हामी सबै एक हौं, संकटको घडीमा सहकार्य नै हाम्रो बल हो।”






