वीरगञ्ज । रक्तदानको महत्त्वबारे जनचेतना फैलाउने र रगत अभावको अवस्थामा राहत प्रदान गर्ने उद्देश्यले जितपुर सिमरा महिला सञ्जालले विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ।
सञ्जालका अनुसार, स्वस्थ पुरुष तथा महिलाले हरेक ३–३ महिनामा रक्तदान गर्न सक्ने भएकाले वर्षमा कम्तीमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गरिनेछ।
महिलाहरूमा रक्तदान गर्ने दर न्यून भए पनि अस्पतालमा रगतको सर्वाधिक आवश्यकता महिलाहरूलाई नै पर्ने हुँदा, महिला लक्षित सचेतना तथा उत्प्रेरणा कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
यसै सन्दर्भमा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १४ वडा समितिको कार्यालयले वडाभित्र उपचाररत नागरिकहरूलाई वीरगञ्ज ब्लड बैंकमार्फत नि:शुल्क रगत उपलब्ध गराउन रु. १ लाख रकम सहयोगस्वरूप प्रदान गरेको छ।
वडा अध्यक्ष चयन गुरुङले पालिकालाई आग्रह गर्दै भन्नुभयो, “हाम्रो उपमहानगरपालिकाले कम्तीमा आफ्ना नागरिकको उपचारका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन बजेट व्यवस्था गर्नुपर्छ।”
रगत अभावको बेला मानवीय सेवाभावले प्रेरित भई आकस्मिक रक्तदान कार्यक्रममा सहभागिता जनाउने ६० जना रक्तदाताहरू, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा, वीरगञ्ज ब्लड बैंक, प्रमुख अतिथि, अन्य अतिथिहरू तथा यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षहरूलाई महिला सञ्जालले निरन्तर साथ र सहयोगको अपेक्षासहित धन्यवाद तथा आभार प्रकट गरेको छ।
वडाध्यक्ष गुरुङले रक्तदान जस्तो जीवनदायी कार्यमा सबैलाई संलग्न हुन आह्वान समेत गर्नुभयो।






