वीरगञ्ज । रौतहटको कटहरिया नगरपालिका–५ निवासी ३० वर्षीय पत्रकार रवीन्द्र प्रजापतिले शनिवार साँझ आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका छन् ।
गरुडा म्युजिकल एफएममा कार्यरत प्रजापति समाचार लेखन र वाचनमा सक्रिय थिए । उनको आत्महत्याको पछाडि कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवालबाट प्राप्त धम्की मुख्य कारण भएको स्थानीयवासीको दाबी छ ।
शनिवार साँझ प्रजापतिलाई परिवारले झुन्डिएको अवस्थामा फेला पारेपछि पासो काटेर तत्काल अस्पताल पुर्याएका थिए । तर, गौर अस्पतालले उनलाई मृत घोषणा गर्यो ।
रौतहट प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन कार्कीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि गौर अस्पतालमै राखिएको छ ।
स्थानीय स्रोतका अनुसार, पत्रकार प्रजापतिले खानेपानी समस्याबारे समाचार लेखेपछि प्रमुख जयसवालले उनलाई धम्की दिँदै गालीगलौज गरेका थिए । घटनाले प्रजापतिमा मानसिक तनाव बढेको र उनी डरले घरबाहिर निस्कन नसकेको बताइएको छ । जयसवालको धम्कीका कारण उनी गहिरो तनावमा रहेको र यही कारण आत्महत्याको बाटो रोजेको स्थानीयको अनुमान छ ।
यसअघि, गत जेठ २९ मा प्रेस चौतारी रौतहट शाखाले प्रमुख जयसवालको धम्कीविरुद्ध विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेको थियो । शाखा अध्यक्ष अशोक पहाडीले स्थानीय प्रशासनलाई पत्रकारको सुरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेका थिए ।
यद्यपि, डिएसपी कार्कीले प्रमुख जयसवालले धम्की दिएको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने, “घटनाको अनुसन्धान भइरहेको छ । धम्कीको कुरा थाहा भएन, तर हामी सबै पक्षको जाँच गरिरहेका छौँ ।”
पत्रकार प्रजापतिको आत्महत्याले रौतहटमा पत्रकारिता क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ । घटनाले पत्रकारको सुरक्षा र स्वतन्त्रतामाथि प्रश्न उठाएको छ । स्थानीय प्रशासनले प्रकरणमा गम्भीर अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पत्रकार महासङ्घलगायत विभिन्न सङ्घसंस्थाले गरेका छन् ।






