वीरगन्ज । शनिबार रक्सौलस्थित सशस्त्र सीमा बल (एसएसबी) को ४७ औं वाहिनी अन्तर्गतको एण्टी ह्युमन ट्राफिकिङ युनिट (AHTU) ले एक नाबालिग किशोरीलाई मानव तस्करीको चङ्गुलबाट उद्धार गरेको छ।
नेपालबाट भारततर्फ पैदल यात्रा गरिरहेकी किशोरी र उनीसँगै हिँडिरहेका युवकलाई शंका लागेपछि एसएसबी टोलीले सोधपुछका लागि रोकेको थियो। प्रारम्भिक अनुसन्धानबाट युवकले आफ्नो वास्तविक नाम मोहम्मद समीर लुकाएर “आकाश”को पहिचान बनाई किशोरीलाई प्रेमको जालमा पारेर भारत लैजाँदै गरेको तथ्य खुलेको हो।
किशोरीको काउन्सिलिङका क्रममा उनले युवकको वास्तविक परिचयबारे जानकारी नभएको र आफूलाई भारत कहाँ लैजाने भनिएको हो भन्ने समेत थाहा नभएको खुलाएकी छिन्। युवकको मोबाइल जाँच्दा ‘आकाश’ नामबाट विभिन्न युवतीहरूसँग गरिएको संवाद, स्क्रीनसट र अन्य डाटाहरू फेला परेका छन्। प्रारम्भिक प्रमाणका आधारमा युवक एक मानव तस्करी सञ्जालसँग संलग्न हुन सक्ने आशंका गरिएको छ।
उद्धार गरिएकी किशोरी महोत्तरी जिल्लाको बर्दिबासस्थित घरबाट परिवारको अनुमति बिना नै युवकसँग निस्किएकी थिइन्। उनको हराएको विवरण बर्दिबास प्रहरी कार्यालयमा दर्ता गरिएको पुष्टि भएको छ।
एसएसबीले उद्धारपछिको प्रक्रिया अन्तर्गत किशोरी र युवकलाई थप अनुसन्धानका लागि नेपाल प्रहरी, पर्सा जिल्लाको ईनरुवा प्रहरी चौकी (वीरगञ्ज)मा जिम्मा लगाएको छ।
सीमावर्ती क्षेत्रमा मानव तस्करीको जोखिम अझै कायम रहेको सन्दर्भमा, यस घटनाले सुरक्षा निकाय र सरोकारवालाहरूबीच अझ कडाइ र सहकार्य आवश्यक रहेको संकेत दिएको छ।


