वीरगञ्ज । वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा कुल १ अर्ब ६२ करोड ४० लाख ४१ हजार रुपैयाँ राज्यको कोषमा जम्मा गरेको हो ।
गत वर्षको तुलनामा यो संख्यामा झण्डै १० करोड रुपैयाँको वृद्धि देखिएको छ । कार्यालय प्रमुख कुसेश्वर साहका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
राजस्वको सबैभन्दा ठूलो हिस्सा सवारी साधन कर बाट संकलन भएको हो । साहका अनुसार उक्त शीर्षकबाट मात्रै १ अर्ब २२ करोड १९ लाख ९ हजार रुपैयाँ उठेको छ ।
त्यस्तै, चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता तथा अन्य दस्तुरहरूबाट ३२ करोड १६ लाख १६ हजार रुपैयाँभन्दा बढी राजस्व आर्जन गरिएको छ ।
रुट परमिट, पाटके, प्रदूषण जाँच लगायतका कार्यबाट ८ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व उठेको कार्यालयले जनाएको छ । त्यस्तै प्रशासनिक जरिवाना तथा जफत शीर्षकबाट १४ हजार ५ सय रुपैयाँ संकलन भएको छ ।
कार्यालयका सहायक शाखा अधिकृत रामसुन्दर महतोका अनुसार प्रदेश सरकारले सवारी नवीकरणमा जरिवाना छुटको व्यवस्था गरेपछि बक्यौता तिर्ने सेवाग्राहीको संख्यामा वृद्धि भएको हो । यही कारण राजस्व संकलनमा उल्लेखनीय वृद्धि देखिएको महतोको भनाइ छ ।






