Categories समाचार

३ हप्ता बित्दा पनि पानी वितरण हुन सकेन, वडाध्यक्ष गुप्ताको बोरिङ जनताको लागि बोझ बन्दै

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ स्थित वडा अध्यक्ष सुरेश गुप्ताले करिब १९ दिनअघि सुरु गरेको बोरिङ अहिलेसम्म पनि प्रयोगमा आउन सकेको छैन। खानेपानीको अभाव झेलिरहेका स्थानीयवासी वडाध्यक्षको बोरिङबाट एक थोपा पानी नपाएको भन्दै आक्रोशित छन्।

वडाध्यक्ष गुप्ताले आफूले जनताको लागि बोरिङ गराएको दाबी गर्दै आए पनि उक्त बोरिङमा अहिलेसम्म पाइप जडान र वायरिङको काम सम्पन्न हुन सकेको छैन। यसको कारणले बोरिङबाट न पानी वितरण हुन सकेको छ, न जनतालाई राहत मिलेको छ। बरु, व्यवस्थापन नहुँदा बोरिङको पानी सडकमा बगिरहेको छ र बाटो बिग्रने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ।

Advertisement

स्थानीयवासीहरूको भनाइमा, वडाध्यक्षले न त बोरिङ सम्पन्न गर्न चासो देखाए, न त समयमै समन्वय गरे। यस्तै निष्क्रियता देखेर फुलबारी टोलबासी आफैं जुटेर चन्दा संकलन गर्दै महानगरसँग सहकार्य गरी छुट्टै बोरिङ सुरु गरेका थिए। त्यो बोरिङ दुई दिनमै सञ्चालनमा आएको छ र अहिले घरघरमा पानी वितरण भइरहेको छ।

Advertisement

जनताको गुनासो र सामाजिक सञ्जालमा आलोचना चुलिएपछि वडाध्यक्षले केही पाइप ल्याएर सडकमा छोडे पनि त्यो केवल देखावटी प्रयास भएको स्थानीयको आरोप छ। एक टोलबासी भन्छन्, “३ हप्ता भयो, उहाँको बोरिङको पानी अझै पनि घरभित्र आएको छैन। बाटोमा मात्रै बगिरहेको छ।”

पानी बिना पलपल कष्टकर जीवन बाँचिरहेका वडाबासीलाई सहज बनाउन करिब १९ दिनअघि गरिएको बोरिङको पानी अझै वितरणमा आउन सकेको छैन। वडाध्यक्षको भनाइ र व्यवहारमा ठुलो अन्तर देखिएको स्थानीयको ठम्याइ छ।

वडाध्यक्ष गुप्ताले नेतृत्व गरेको भनिएको बोरिङको काम अलपत्र परिरहँदा फुलबारी टोलबासीले समन्वय गरी आफैं चन्दा संकलन गरेर पाइप र वायरिङको व्यवस्था गरे र दुई दिनमै पानी घरघरमा पुर्‍याए थिए।

टोलबासीको सफल प्रयासपछि वडाध्यक्ष गुप्ताको प्रतिक्रिया आलोचनात्मक रह्यो। उनले भिडको बीचमा ‘मसँग सहकार्य गरेको भए म आफैं वायरिङ गरिदिन्थें’ भन्ने अभिव्यक्ति दिए। पछिको वायरिङ आफू गर्ने आश्वासनसमेत दिए, तर त्यो आश्वासन अझै ढाडसमै सीमित देखिएको स्थानीयले आलोचना गरे ।

स्थानीयले आरोप लगाएका छन् कि जनताको आफ्नै पहललाई सहयोग गर्नुको सट्टा वडाध्यक्षले डाह र हेपाहा व्यवहार देखाउँदै सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गरे।

सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा वडाध्यक्षले ठूला ठूला कुरा गरे पनि सानो काममा समेत यति धेरै समय लागेकोप्रति स्थानीयजनमा निराशा छ। जनप्रतिनिधिबाट यति कमजोर कार्यशैली देखिनु दुःखद भएको उनीहरूको भनाइ छ।

यस घटनाले निर्वाचित जनप्रतिनिधिको अकर्मण्यता, योजना कार्यान्वयनमा कमजोरी र जनताप्रति गैरजिम्मेवारीपनको उदाहरण प्रस्तुत गरेको छ। फुलवारी टोलका बासिन्दाले तत्काल वडाध्यक्षको बोरिङमा बाँकी काम सम्पन्न गरी पानी वितरणको व्यवस्था गर्न माग गरेका छन्। पानी जस्तो आधारभूत आवश्यकतामा पनि प्रभावकारी सेवा नपाउँदा जनतामा निराशा र आक्रोश दुवै देखिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *