पर्सा । पर्सा जिल्लाको सीमावर्ती क्षेत्रबाट एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका छन्। पटेर्वा सुगौली गाउँपालिका–४ स्थित करबोलाबाट ८ किलो ४४० ग्राम गाँजासहित एक जनालाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्ति पर्सागढी नगरपालिका–९, एकटंगाका ३४ वर्षीय जगमोहन यादव रहेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। बिहारतर्फ जाँदै गरेको बीआर ०५ एजी ६८०५ नम्बरको मोटरसाइकल जाँचका क्रममा प्रहरीले गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार यादवले गाँजा मोटरसाइकलको सिटमुनी लुकाएको र केही परिमाण शरीरमा बाँधेको अवस्थामा फेला परेको हो। विशेष सुराकीका आधारमा चेकजाँच गरिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।
हाल पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबार बढ्दै गएकाले प्रहरीले निगरानी कडा पारेको जनाइएको छ।






