वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे. पर्साका प्रहरी उपरीक्षक पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र राज खड्काले वीरगंज स्थित मानवसेवा आश्रमको अवलोकन भ्रमण गर्नुका साथै आश्रममा सञ्चालन गरिएको बिहानको भोजन सेवामा समेत सक्रिय सहभागिता जनाएका छन्।
अवलोकनका क्रममा वहाँहरुले आश्रममा आश्रित वृद्धवृद्धासँग आत्मीय संवाद गर्दै उनीहरूको स्वास्थ्य, रहनसहन र आवश्यकता सम्बन्धमा जानकारी लिएका थिए। साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत आफूहरू व्यक्तिगत तथा संस्थागत रूपमा आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सशस्त्र प्रहरीका अधिकारीहरूले आश्रममा रहेका सेवाग्राहीहरूप्रति देखाएको आत्मीयता, सेवा भाव र सरोकारले मानव सेवाको क्षेत्रप्रति प्रहरी संगठनको संवेदनशीलता र जिम्मेवारीलाई प्रष्ट पारेको देखिएको छ।
उक्त अवसरमा मानवसेवा आश्रम वीरगंजका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, संयोजक मुना मगर पुलामी, प्रदुमन सर्राफ, पवन कलवार, आयुष गिरी लगायतका पदाधिकारी तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत सशस्त्र प्रहरी र मानवसेवा आश्रमबीच भविष्यमा सहकार्य तथा सेवामूलक क्रियाकलापमा सहजीकरण गर्ने विश्वास समेत गरिएको छ। यस प्रकारका पहलहरूले समुदायमा सकारात्मक सन्देश फैलाउनुका साथै राज्यका संयन्त्र र नागरिक समाजबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।






