वीरगंज । वीरगंज महानगरपालिका–९, रानीघाटस्थित बिपिएस प्लस टु कलेजमा छात्राहरूलाई लक्षित गरी सञ्चालन गरिएको पाँचदिने मेहन्दी तालिम आज एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ।
कलेजको आफ्नै सभाहलमा आयोजित तालिममा इच्छुक ३० जना छात्राहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको आयोजनामा श्री राधे कृष्ण मेहन्दी ट्रेनिङ्ग सेन्टर, वीरगंजको समेत सहयोग प्राप्त भएको थियो।
कार्यक्रमका प्रशिक्षक स्वेता गुप्ताले सावन महिनाको सांस्कृतिक महत्त्व र श्रृङ्गारसँग मेहन्दीको सम्बन्धबारे प्रशिक्षण दिँदै कलेजले यस्ता सीपमूलक कार्यक्रमहरू सञ्चालन गरेर छात्राहरूको प्रतिभा अभिवृद्धिमा योगदान पुर्याएकोमा प्रशंसा व्यक्त गरिन्।
समापन समारोहमा बोल्दै कलेजका एचआर डाइरेक्टर सन्दीप कुशवाहाले सहभागी छात्राहरूको उत्साहलाई सराहना गर्दै व्यावहारिक र व्यवसायिक सीप विकासका लागि कलेज सधैं क्रियाशील रहने बताए।
त्यसैगरी, कलेजका शैक्षिक निर्देशक दीपक पटेलले शिक्षा मात्र नभई सीप र सृजनशीलता अभिवृद्धिका कार्यक्रमहरू समेत सञ्चालन गर्ने कलेजको योजनाबारे जानकारी गराउँदै यस्ता तालिमलाई भविष्यमा पनि निरन्तरता दिइने बताए।
सहभागी छात्राहरूले पाँचदिने तालिम निकै उपयोगी भएको प्रतिक्रिया दिँदै कलेज र प्रशिक्षकप्रति आभार व्यक्त गरेका थिए।






