वीरगन्ज । वीरगन्ज महानगरपालिकाले हैजाको जोखिम बढ्दै गएको भन्दै भाद्र ११ गतेदेखि १३ गतेसम्म महानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।
महानगरले पहिलै २ दिन शैक्षिक संस्था बन्द गरेपनि फेरि मिति २०८२ भाद्र १० गते बसेको बैठकले सो निर्णय गरेको हो। महानगरका शिक्षा प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी विज्ञप्तिमा विद्यालयहरू बन्द रहँदा शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रण सम्बन्धी जनचेतनामूलक गतिविधिमा अनिवार्य रूपमा सहभागी गराउन विद्यालयलाई निर्देशन दिइएको उल्लेख छ।
विद्यालयको सेवा क्षेत्रअन्तर्गत रहेका बस्ती समुदायमा शिक्षक र कर्मचारीहरूको टोली बनाएर घर घर पुग्दै हैजाबारे सचेतना फैलाउने, परामर्श दिने तथा रोकथामका उपायहरू प्रचार–प्रसार गर्ने कार्य गर्नुपर्ने महानगरले स्पष्ट गरेको छ।
यससँगै विद्यालयहरूले आवश्यक प्रचार प्रसार सामग्री (पोस्टर, पम्प्लेट र अन्य जनचेतनामूलक सामग्री) महानगरको शैक्षिक प्रशासन महाशाखाबाट लिन सक्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ।






