वीरगञ्ज । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहलाई मोबाइलमार्फत अपशब्दसहित ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२६ सिसुवा महेशपुरकी किरण साहलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मन्त्री यादव र मेयर सिंहले आफूहरूलाई धम्की आएको गुनासो गरेपछि तत्काल अनुसन्धान सुरु गरिएको हो। प्रारम्भिक सोधपुछमा किरणले हैजाका कारण परिवारका सदस्य गम्भीर अवस्थामा आईसीयूमा भर्ना भएको भन्दै असन्तुष्टि जनाउँदै फोन सम्पर्क गरेको स्वीकार गरेकी छन्। तर अनुसन्धानमा उनका परिवारजन हैजासम्बन्धी रोगका कारण नभई बुवाको पुरानो दम रोगको उपचारका लागि मात्र अस्पताल भर्ना भएको खुलेको प्रहरीले जनाएको छ।
यसबीच, मन्त्री यादवसँगको अभद्र फोन संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले थप चर्चा पाएको छ। प्रहरीले धम्कीपूर्ण अभिव्यक्ति कुनै समूह वा व्यक्तिबाट प्रेरित भएर गरिएको हुन सक्ने आशंका जनाएको छ। घटनालाई संवेदनशील मानेर प्रहरीले कानुनी कारबाही अघि बढाउने तयारीसमेत गरेको छ।
यो घटनाले स्वास्थ्य सेवाप्रति असन्तुष्टि, सामाजिक सञ्जालमा फैलिने विवादास्पद सामग्री र राजनीतिक व्यक्तित्वलाई लक्षित धम्कीबीचको सम्बन्धबारे पनि नयाँ प्रश्न खडा गरेको छ।






