वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बृहत् महिला सम्मेलन–२०८२ मा विभिन्न क्षेत्रका २५ जना महिला उद्यमीलाई सम्मान गरिएको छ।
महिला उद्यमशीलता विकास समितिको संयोजनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दोसल्ला ओढाई र सम्मानपत्र प्रदान गरी महिला उद्यमीहरूलाई सम्मान गर्नुभयो।
सम्मानित हुनेमा अनिता साह र माधुरी महतो विशेष रूपमा उपस्थित हुनुहुन्थ्यो।
साह शिक्षा क्षेत्रमा लामो अनुभव राख्ने, भोजपुरी प्रतिष्ठान, वीरगञ्जकी अध्यक्ष तथा साहित्यिक क्षेत्रमा सक्रिय महिला उद्यमी हुन्। उनले आफ्नो नेतृत्व र कार्यदक्षताका कारण महिलाको सशक्तिकरण र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेकी छिन्।
त्यस्तै, महतो बिबिसी नेपाली सेवाका मधेस प्रदेश संवाददाता र मधेसखबरकी सम्पादक तथा भोजपुरी प्रतिष्ठान, वीरगञ्जमा आबद्ध छिन् । सञ्चार र भाषा संरक्षणमा सक्रिय रहँदै उनले महिलाको सशक्तिकरण, शिक्षा र सामाजिक विकासका लागि निरन्तर योगदान पुर्याइरहेकी छिन्।
कार्यक्रममा महिला उद्यमशीलता, शिक्षा, सञ्चार, स्वास्थ्य लगायतका क्षेत्रमा सक्रिय २५ जना महिलालाई ‘नारी शक्ति, समर्पण र सम्मान’ भन्ने मूल नाराका साथ सम्मान गरिएको छ।






