वीरगञ्ज । संघीय खानेपानी मन्त्री तथा पर्साबाट निर्वाचित सांसद प्रदीप यादवले हालै आफ्नो मोबाइलमा आएको धम्कीपूर्ण फोन र त्यससँग सम्बन्धित अडियो प्रकरणबारे प्रतिक्रिया दिएका छन्।
मन्त्री यादवले वीरगञ्जलाई आफ्नो जन्मथलो र राजनीतिक संघर्षको भूमि भन्दै पछिल्ला दिनमा देखिएका खानेपानी संकट र हैजा महामारीका विरामीहरूको समस्यामा संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्दै युद्धस्तरमा सक्रिय रहेको बताए।
उनका अनुसार गत सातादेखि एक अज्ञात महिलाले फोन गरी धम्कीपूर्ण भाषा प्रयोग गरेकी थिइन्। “सुरुमा मलाई लाग्यो, कोही आफन्त बिरामी भएकाले पीडा पोखिएको होला, तर पछि ज्यानमार्ने धम्कीसमेत दिइएको हुँदा प्रहरीलाई जानकारी गराएँ,” मन्त्री यादवले भने।
उक्त महिलाले सम्पादन गरिएको अडियो सार्वजनिक गराएको र पछि वास्तविक अडियो बाहिरिएपछि सत्यता प्रस्ट भएको मन्त्री यादवको भनाइ छ। हाल ती महिलामाथि पर्सा प्रहरीले अनुसन्धान अगाडि बढाएको बताइएको छ।
“जनताले सरकारसँग प्रश्न गर्न पाउनु मेरो राजनीतिक संघर्षको ध्येय हो। तर मार्ने धम्की र अफवाह फैलाउनु लोकतान्त्रिक संस्कार होइन,” मन्त्री यादवले स्पष्ट पारे।
उनले फोनकर्ताप्रति व्यक्तिगत रूपमा कुनै पूर्वाग्रह नरहेको बताउँदै “उहाँलाई सच्चिन र लोकतान्त्रिक अधिकार प्रयोग गर्न सहयोग गर्ने” प्रतिबद्धता जनाए। साथै, फोनकर्तामाथि नरम हुनुपर्ने सन्देश प्रहरीलाई आफ्नो सचिवालयमार्फत प्रेषित गरेको जानकारी समेत दिए।
“हामी कानुनभन्दा माथि कोही छैनौं, अदालतको निष्पक्षतामाथि विश्वास गर्नुपर्छ,” मन्त्री यादवले भने, “लोकतन्त्रमा गुनासो पोख्ने छुट छ, तर अराजकता फैलाउने अनुमति दिन सकिँदैन।”






