Categories समाचार

विद्यालय पुग्न दुई घण्टा पैदल

Advertisement

दोधारा l भीमदत्त नगरपालिका–९ का खल्ला मसेट्टी र टुँडिखेल जिल्लाकै विकट बस्ती हुन् । यहाँ माध्यमिक तहको विद्यालय नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर ब्रह्मदेवस्थित सिद्धबैजाथ विद्यालय पुग्ने गरेका छन् ।

ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरिता बोहरा वर्षात्को समयमा विद्यालय आवतजावत गर्न निकै सास्ती खेप्नुपरेको बताउनुहुन्छ । “गाउँमा कक्षा ८ सम्मको मात्रै विद्याललय छ त्यसपछि हामीले अध्ययनका लागि दुई घण्टा पैदल हिँडेर ब्रह्मदेव पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “वर्षात्को समयमा विद्यालय जान पाउँदैनौँ, बाढीपहिराले सडक बन्द हुन्छ ।” विद्यालय टाढा भएकै कारण आफ्ना धेरै साथीहरु विद्यालय छाड्न बाध्य भएको बोहराले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “एक्लै आवतजावत गर्न सकिँदैन । धेरैपटक त बाटोमा खोला तर्न नसकेर घर फर्केका छौँ ।”

Advertisement

महाकाली नदी किनार जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले यहाँका विद्यार्थी समूह बनाएर विद्यालय आउने जाने गर्छन् । उक्त बस्तीदेखि विद्यालयसम्म पुग्न १३ खोला तर्नुपर्छ । हिउँदमा अटोरिक्सा र मोटरसाइकल चले पनि बर्खाको समयमा बाढीपहिराले पूर्ण रूपमा सडक बन्द हुँदा यहाँका विद्यार्थी पढ्नबाट वञ्चित हुने गरेका छन् ।

सिद्धनाथ मावि ब्रह्मदेवमा १० कक्षामा अध्ययनरत सपना ठकुल्लाले विद्यालय पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । “आठ किलोमिटरको जोखिमपूर्ण बाटो भएर विद्यालय आवतजावत गर्नुपर्छ, घरमा पढाइ गर्न बिजुली बत्ती छैन”, उहाँले भन्नुभयो, “मसँगैका तीन साथी पढ्न छाडेर मजदुरी गर्न भारत गइसकेका छन् ।” जङ्गलको बाटो बर्खाका बेला पहिरो र चट्याङको समेत डर रहन्छ ।

भौगोलिक रूपले विकट मानिएको यहाँको बस्ती सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा विद्यार्थी आठ किलोमिरट टाढा पैदल विद्यालय जान बाध्य छन् । “चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भए पनि अध्ययनका लागि यहाँका बालबालिका हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि पुग्ने गरेका छन्”, टुँडिखेलका लोकबहादुर थापामगरले भन्नुभयो, “बाटोकै समस्याले धेरैले विद्यालय छाडेका छन् ।”

मौसमको अवस्था हेरेर विद्यालय जानुपर्ने बाध्यता छ । “मेरो नातिनि पनि कक्षा ९ मा पढ्छिन्, यहाँ विद्यालय जान धेरै समस्या भएकाले मैले लम्कीमा बस्ने भाइको घरमा अध्ययनका लागि पठाएको छु”, उहाँले भन्नुभयो, “यहाँबाट ४०–५० विद्यार्थी हिँडेरै ब्रह्मदेव जान्छन, यहाँ कक्षा ८ सम्म मात्र पढाइ हुन्छ ।”

टाढाको विद्यालय जान यहाँका विद्यार्थीले दुःख झेल्नुपर्ने भएकाले गाउँमै माध्यमीक तहको पढाइ हुनुपर्ने स्थानीयको माग छ । यहाँ रहेको सरस्वती मावि टँुडिखेलमा कक्षा ४ सम्म पढाइ हुने गरेको छ भने बैजनाथ मावि टुँडिखेलमा ६ कक्षासम्म पढाइ हुन्छ । भीम स्मृति मावि खल्लामा कक्षा ८ सम्म पढाइ हुने गरेको छ ।

गाउँमा आर्थिक रूपले विपन्न नागरिकको बसोबास भएकाले पनि थुप्रै विद्यार्थीले पढाइ छाडेर भारत जानुपरेको हो । खल्ला मसेट्टी र टुँडिखेलमा गरी करिब पाँच सय परिवारको बसोबास छ । यहाँका बासिन्दाले महाकाली नदीको बगरमा बालुवा र गिट्टी छानेर आय आर्जन गर्छन् । यहाँका अधिकांश पुरुष भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्ने गरेका छन् । रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *