वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३ का डा. राजु बैठा हालै भारतको पञ्जाबस्थित आरआईएमटी विश्वविद्यालय (RIMT University) बाट राजनीति शास्त्रमा पीएचडी उपाधि प्राप्त गरेपछि वडाबाट विशेष सम्मान पाएका छन्।
शुक्रबार आयोजित कार्यक्रममा वडा अध्यक्ष अवधकिसोर कुशवाहाले उनलाई गम्छा र खादा ओढाएर सम्मान गरे। वडाबाट पहिलो पटक पीएचडी उपाधि हासिल गरेका व्यक्ति भएको भन्दै अध्यक्ष कुशवाहाले भने, “डा. बैठाको शैक्षिक उपलब्धिले वडाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ ।”
डा. बैठाले “Performance Evaluation of Birgunj Metropolitan Municipality: A Study of Selected Services” शीर्षकमा अनुसन्धान पूरा गरेका हुन्।
उनले महानगरपालिकाले नागरिकलाई दिएको सेवाको कार्यक्षमता, प्रभावकारिता र परिणामबारे अध्ययन गर्दै आगामी नीति–निर्माणका लागि आधार तयार गर्ने निष्कर्ष प्रस्तुत गरेका छन्।
सम्मान ग्रहण गर्दै उनले भने, “गाउँ–टोल र समाजकै प्रेरणाले यो स्तरमा आइपुगेको हुँ। शिक्षा र अनुसन्धानमार्फत आफ्नो क्षेत्र र समाजलाई अझ योगदान पुर्याउने संकल्प गरेको छु।”







