वीरगञ्ज । चित्रांश युवा समितिद्वारा आयोजित प्रथम कायस्थ सुपर सिक्स नकआउट क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
चित्रगुप्त समितिका अध्यक्ष महेश दास र चित्रांश युवा समितिका अध्यक्ष राजन श्रीवास्तवको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि अरविन्द लाल कर्ण रहनुभएको थियो।
कार्यक्रममा डा. अशोक दास, राहुल श्रीवास्तव, रत्नेश्वर श्रीवास्तव, डा. श्यामसुन्दर दास, बसु कर्ण लगायत प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
ग्यान्डा एकेडेमीको मैदानमा सञ्चालन भएको प्रतियोगितामा १० टोलीबीच प्रतिस्पर्धा भएको थियो।
कायस्थ किङ्सले ९६ रनको लक्ष्य पूरा गर्दै विजेता बनेर रु. ११,००० नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्यो भने कायस्थ याक्स उपविजेता बन्यो।
प्रमुख अतिथि अरबिन्दलाल कर्णले खेलकुदले युवामा अनुशासन र एकता सुदृढ बनाउने बताउँदै यस्ता गतिविधिले समुदायबीचको सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।
समापन कार्यक्रम चित्रगुप्त मन्दिर भवनमा सम्पन्न भएको थियो।






