Categories एजेन्सी

आन्ध्र प्रदेशको वेंकेटेश्वर मन्दिरमा भागदौड, १० जनाको मृत्यु

Advertisement

श्रीकाकुलम । आन्ध्र प्रदेशको श्रीकाकुलमस्थित काशीबुग्गा वेंकटेश्वर मन्दिरमा शनिबार एकादशीका दिन भागदौड मच्चिँदा १० जनाको मृत्यु भएको छ । मृतकहरूमध्ये ८ महिला र २ बालबालिका रहेका छन् । यस घटनामा २५ भन्दा बढी मानिस घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ ।

स्थानीयका अनुसार अत्यधिक भीडभाडका कारण धकेलाधकेल हुँदा रेलिङ भत्किएको र त्यसपछि भागदौड मच्चिएको थियो । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । सरकारले यस दुर्घटनाको छानबिन गर्न आदेश दिएको छ ।

Advertisement

भागदौडपछि धेरै महिला बेहोस भएका थिए । घटनाका धेरै भिडियोहरू सार्वजनिक भएका छन्, जसमा मन्दिरको सिँढीमा महिला, बालबालिका र धेरै वृद्धवृद्धासहित मानिसहरूको ठुलो भिड देखिएको छ । सोही क्रममा रेलिङ भत्किएर मानिसहरू भिडमा दबिएका थिए । महिला र बालबालिका बाहिर निस्कन चिच्याएको र धेरैले ज्यान बचाउन मानिसहरूको माथिबाट निस्कने प्रयास गरेको देखिन्छ ।

दुर्घटनापछिका भिडियोहरूमा मानिसहरूले भीडमा दबिएका महिला र बालबालिकालाई बाहिर निकाल्दै गरेको देखिएको छ । भागदौड भएको ठाउँमा महिलाहरू यत्रतत्र अचेत अवस्थामा लडेका थिए । मानिसहरूले भिडबाट महिलाहरूलाई हातखुट्टा समातेर तान्दै गरेको पनि देखिन्छ । 

आन्ध्र प्रदेशकी गृहमन्त्री अनिताले मन्दिरमा हरेक हप्ता करिब १५०० देखि २००० श्रद्धालु दर्शनका लागि आउने जानकारी दिइन् । एकादशीका कारण आज श्रद्धालुको संख्या निकै धेरै थियो । उनका अनुसार मन्दिर पहिलो तलामा अवस्थित छ र यहाँ पुग्न २० वटा सिँढी छन् । धकेलाधकेल हुँदा रेलिङ भत्किएर भागदौड मच्चिएको थियो । 

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *