Categories समाचार

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा हुने

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो।

भेलाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गर्दै भन्यो, “कार्कीहरूले बलिदानको नाममा सत्ता कब्जा गरेका छन्, यो आन्दोलनका सहिदहरूप्रति गरिएको विश्वासघात हो।” सहभागीहरूले कार्की नेतृत्वको सरकार सत्ताकुको उपज भएको र त्यसले विद्रोहका उपलब्धिलाई मोलमोलाइ गर्न खोजेको आरोप समेत लगाए।

Advertisement

जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले भने, “यो देशको नयाँ पुस्ताले केवल प्रतीकात्मक परिवर्तन होइन, संरचनात्मक रूपान्तरण खोजेको हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र सार्वजनिक संस्थाहरूको पुनःसंरचना बिना स्थायित्व र सुशासन सम्भव छैन।”

Advertisement

भेलाले दुई प्रमुख माग — प्रत्यक्ष कार्यकारी प्रणाली र संस्थागत पुनःसंरचना पूरा नभएसम्म संघर्ष जारी रहने घोषणा गरेको छ। साथै, आन्दोलनलाई शान्तिपूर्ण तर निर्णायक बनाउने प्रतिबद्धता समेत जनाइएको छ।

मुभमेन्टले देशभरका युवाहरू, नागरिक समाज, र सचेत वर्गलाई पुनः एकताबद्ध हुन आह्वान गर्दै भन्यो, “हाम्रो बलिदान इतिहासको प्रतीक होइन, भविष्यको दिशा हो। यो पुस्ताले सत्य र परिवर्तनका लागि अन्तिमसम्म संघर्ष गर्नेछ।”

भेलामा जेन्जी आन्दोलनका अगुवा अजय सोडारीले नयाँ पुस्ताले अघि सारेका मुद्दाहरूलाई संस्थागत गर्न सबैले संयुक्त रूपमा संघर्ष गर्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा आन्दोलनका आगामी चरण, जनसंपर्क विस्तार, र राष्ट्रिय समन्वय समिति गठनबारे पनि विस्तृत छलफल गरिएको बताइएको छ।

मुभमेन्टले निकट भविष्यमै देशव्यापी अभियान सुरु गर्ने तयारी गरेको छ। साथै, भेलाले काठमाडौँमा कार्तिक २३ गते जेन्जी सभा गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *