वासिङ्टन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका शेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई १० खर्ब डलरको तलब प्याकेज दिने योजना स्वीकृत गरेका छन् ।
बिहीबार बसेको कम्पनीको वार्षिक साधारण सभामा ७५ प्रतिशत शेयरधनीले यो प्याकेजको पक्षमा मतदान गरेका थिए । यो कर्पोरेट सीईओको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो तलब प्याकेज हो । मस्क यस अघि नै विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् ।
विगत केही दिनदेखि कम्पनीको सञ्चालक समिति, मस्क र खुद्रा लगानीकर्ताहरूले मस्कको तलब प्याकेजलाई १० खर्ब डलर पुर्याउन अभियान चलाइएको थियो । यो तलब प्याकेज पाउन मस्कले टेस्लाको बजार मूल्य बढाउने, सुस्ताएको कार विक्रीलाई बढाउनु पर्ने, रोबोट्याक्सी र अप्टिमस रोबोटिक्समा निश्चित लक्ष्यहरू पूरा गर्नुपर्नेछ ।
यति ठुलो तलब भुक्तानीको आलोचना भइरहेको थियो । तर सञ्चालक समितिले भने योजना पारित नभए मस्कले कम्पनी छाड्न सक्ने र यो कम्पनीको लागि निकै महँगो हुने तर्क दिएका थिए ।




