Categories समाचार

असंवैधानिक मुख्यमन्त्री नियुक्ति विरुद्ध जेनजी एण्ड युथ अफ बाराको विरोध

वीरगंज । स्वास्थ्य समस्याको बहानामा काठमाडौं प्रस्थान गर्ने क्रममा मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली–महोत्तरी सिमानास्थित एक होटलमा एमाले नेता सरोजकुमार यादवलाई संविधानविपरीत रूपमा मुख्यमन्त्रीको रूपमा नियुक्त गरी गोप्य रूपमा शपथ ग्रहण गराएको घटनाप्रति जेनजी एण्ड युथ अफ बाराले गम्भीर आपत्ति र ध्यानाकर्षण जनाएको छ।

संस्थाले आज एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेशको राजनीतिक पदका लागि स्वार्थका कारण मरिहत्ते गर्ने र स्वाभिमान बेच्ने दलाल नेताहरूप्रति कडा असन्तुष्टि प्रकट गरेको छ। विज्ञप्तिमा भनिएको छ — “पार्टीका झोलेहरू पदका लागि आफ्नै नैतिकता, मर्यादा र प्रदेशको स्वाभिमानलाई होटलको कोठामा बेची राजनीतिक खेल खेलिरहेका छन्। यस्ता असंवैधानिक र अनैतिक कार्यमा संलग्नहरूलाई कानुन बमोजिम कडा कारबाही गर्न हामी नेपाल सरकारसँग माग गर्दछौं।”

Advertisement

संविधानको धारा १६८ सम्बन्धी प्रावधानको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ कि उक्त धारा अनुसार मुख्यमन्त्री नियुक्ति एक क्रमिक संवैधानिक प्रक्रिया हो, जसको पहिलो चरण उपधारा (२) अन्तर्गत स्पष्ट बहुमत प्राप्त दल वा गठबन्धनको संसदीय दलका नेताबाट सुरु हुनुपर्छ।

Advertisement

जेनजी एण्ड युथ अफ बाराका अनुसार, उपधारा (२) अन्तर्गतको प्रक्रिया पूरा नभई प्रत्यक्ष रूपमा उपधारा (३) लागू गर्नु संविधानको मर्म, शब्द र उद्देश्यको उल्लंघन हो।

संस्थाले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा गरिएको उक्त कार्यलाई असंवैधानिक ठहर गर्दै सो निर्णय तत्काल सच्याउन र संवैधानिक सर्वोच्चताको सम्मानसहित प्रदेश प्रमुख भण्डारीलाई पदबाट बर्खास्त गर्न नेपाल सरकारसमक्ष माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *