वीरगंज । वीरगंज नयाँ बसपार्कमा पार्किङ गरिराखिएका दुईवटा यातायातका बसमा मध्यराति भीषण आगलागी हुँदा दुवै बस पूर्णरूपमा जलेर नष्ट भएका छन्।
जम जम लेखिएको ना५ख ६२१६ र ना५ख ६२१७ नम्बरका दुवै बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए।
उनका अनुसार करिब ४–५ महिनादेखि पार्किङमै रोकिराखिएका ती बसमध्ये सुरुमा एउटामा आगो लागेको देखिएको र त्यसपछि आगो अर्को बसमा फैलिएको अनुमान गरिएको छ। आगलागी राति करिब पौने १ बजेतिर भएको बताइएको छ।
घटना भएपछि सुरक्षाकर्मी र वीरगंज महानगरपालिकाको अग्नि नियन्त्रक टोलीले दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याएका थिए। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।






