Categories समाचार

जेनजी आन्दोलनपछि अस्तव्यस्त गहवामाई मन्दिर, महानगरले थाल्यो पुनः व्यवस्थापन

Advertisement

वीरगंजमा गहवामाई मन्दिर परिसर पुनः सौन्दर्यकरण सुरु, धार्मिक धरोहर संरक्षणमा महानगरको पहल

वीरगंज । वीरगंजको धार्मिक तथा ऐतिहासिक पहिचान बोकेको गहवामाई मन्दिर परिसरको पुनः सौन्दर्यकरण तथा व्यवस्थापनको काम सुरु गरिएको छ। गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मन्दिर परिसरमा लगाइएको छेकबार तोडफोड भएपछि क्षेत्र अस्तव्यस्त बनेको थियो। त्यसपछिका दिनमा सुरक्षा, सौन्दर्य तथा आवागमन व्यवस्थापनमा समस्या देखिएपछि वीरगंज महानगरपालिकाले आजदेखि पुनः व्यवस्थापनको काम अघि बढाएको हो।

Advertisement

तोडफोडका कारण मन्दिर परिसरमा अव्यवस्थित अवस्था सिर्जना हुनुका साथै श्रद्धालुहरूको आवत–जावतमा समेत कठिनाइ उत्पन्न भएको थियो। मन्दिर क्षेत्रको मौलिकता जोगाउँदै धार्मिक वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन महानगरपालिकाले बिहानैबाट सरसफाइ, छेकबार व्यवस्थापन, आवागमन सहज बनाउने संरचना निर्माण तथा सौन्दर्य अभिवृद्धिका काम सुरु गरेको जनाएको छ।

Advertisement

नगर प्रमुख राजेशमान सिंहले गहवामाई मन्दिर वीरगंजको मात्र नभई समग्र मधेस क्षेत्रकै प्रमुख धार्मिक आस्थाको केन्द्र भएको उल्लेख गर्दै यसको संरक्षण र सौन्दर्य कायम राख्नु महानगरको प्राथमिकता रहेको बताए। उनले भने, “गहवामाई मन्दिर हाम्रो सांस्कृतिक र धार्मिक धरोहर हो। कुनै पनि कारणले यस क्षेत्रको गरिमा र सुरक्षा कमजोर हुनु हुँदैन। मन्दिर परिसरलाई सुरक्षित, सुन्दर र व्यवस्थित बनाउने जिम्मेवारी महानगरपालिकाको हो, र त्यसैअनुसार काम अघि बढाइएको छ।”

नगर प्रमुख सिंहले पुनः सौन्दर्यकरणका क्रममा स्थानीय समुदाय, मन्दिर व्यवस्थापन समिति तथा सरोकारवाला निकायसँग समन्वय गरेर काम गरिने जानकारी दिँदै भविष्यमा यस्ता धार्मिक स्थलमा हुने क्षति रोक्न दीर्घकालीन योजना समेत तयार पारिने बताए। “धार्मिक स्थलको संरक्षण केवल संरचना निर्माण मात्र होइन, आस्था र संस्कृतिको सम्मान पनि हो,” उनले थपे।

महानगरपालिकाका अनुसार सौन्दर्यकरण कार्य अन्तर्गत मन्दिर परिसरको सरसफाइ, हरियाली प्रवर्द्धन, व्यवस्थित छेकबार, पैदलयात्रीका लागि सहज आवागमन व्यवस्था तथा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ। यसले श्रद्धालुहरूलाई सुरक्षित र शान्त वातावरणमा पूजा–अर्चना गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

स्थानीयवासी तथा श्रद्धालुहरूले गहवामाई मन्दिर परिसर पुनः व्यवस्थित गर्न सुरु गरिएको कार्यप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले धार्मिक स्थलको संरक्षण र सौन्दर्यकरण निरन्तर रूपमा गरिनुपर्ने माग समेत गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *