Categories समाचार

सासू ससुरा र नन्दको कुटपिटबाट बुहारी गम्भीर घाइते

Advertisement

वीरगञ्ज । घरभित्र सुरक्षित हुनुपर्ने नाताले नै ज्यान जोखिममा परेको गम्भीर घटना वीरगञ्जको गहवा टोलमा सार्वजनिक भएको छ। बुहारीमाथि सासू–ससुरा र नन्दहरूकै कुटपिट र अमानवीय व्यवहारले सीमा नाघ्दा यो घटना घरेलु हिंसाको भयावह उदाहरण बनेको छ।

पीडित मधु कुमारी गुप्ताका अनुसार चार वर्षअघि जातीय परम्पराअनुसार नरेश कुमार गुप्तासँग विवाह भएको थियो । पति रोजगारीका लागि बुटवलमा रहँदा उनी एक्लै ससुराली घरमा बस्दै आइरहेकी थिइन्। यही अवधिमा सासू मिना देवी, ससुरा नागेन्द्र साह कानु र नन्दहरू सुनैना देवी तथा गीता देवीबाट निरन्तर शारीरिक, मानसिक र आर्थिक हिंसा सहनु परेको उनको भनाइ छ।

Advertisement

पीडितका अनुसार घरमा बस्न नदिने, खान–लाउनबाट वञ्चित गर्ने, गालीगलौज गर्ने र पटक–पटक कुटपिट गर्ने क्रम लामो समयदेखि चल्दै आएको थियो। स्थानीय अगुवा र आफन्तको रोहबरमा पटक–पटक छलफल भए पनि ससुराली पक्षको व्यवहारमा कुनै परिवर्तन नआएको उनले बताइन्।

Advertisement

जिल्ला प्रहरी कार्यालयको पहलमा ससुराली घरमै बसोबासका लागि एक कोठा र एक भान्सा उपलब्ध गराउने सहमति भएको थियो। तर सहमतिपछि घर फर्किँदा सो कोठामा बालुवा थुपारिएको र हटाउन आग्रह गर्दा बेवास्ता गरिएको पीडितको आरोप छ। यही विषयले विवाद चर्किँदै गएपछि स्थिति हिंसात्मक बनेको जनाइएको छ।

पीडितका अनुसार बिहीबार दिउँसो करिब २ बजे ससुराली पक्षले अश्लील शब्द प्रयोग गर्दै लात, मुक्का, लाठी र फलामे पाइप प्रहार गरेका थिए। कुटपिटबाट उनको नाक, दाहिने आँखा, अनुहार र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ। आक्रमण ज्यान मार्ने नियतले गरिएको भन्दै उनले गम्भीर आरोप लगाएकी छन्।

घटनापछि पीडितले दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै उजुरी दिने तयारी गरिरहेको बताइएको छ। यस विषयमा ससुराली पक्षको कुरा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *