Categories समाचार

खानेपानी अभावको अन्त्यतर्फ वीरगंज, अढाई अर्बको परियोजनाका लागि टेन्डर आह्वान

Advertisement

वीरगंज । वीरगंजका बासिन्दाले विगत केही वर्षदेखि भोग्दै आएको खानेपानीको चरम अभावबाट अब मुक्ति पाउने भएका छन् ।

वीरगंज महानगरपालिकाले शुद्ध तथा सुरक्षित खानेपानी वितरण प्रणाली विस्तार गर्नका लागि ठेक्का आह्वान गरेसँगै सहरको दीर्घकालीन खानेपानी समस्या समाधानतर्फ ठोस कदम अघि बढेको हो ।

Advertisement

महानगरपालिकाको निरन्तर पहल तथा खानेपानी मन्त्रालयसँगको समन्वयमा एसियाली विकास बैङ्क (एडिबी) को करिब अढाई अर्ब रुपैयाँ लगानीमा वीरगंजको खानेपानी समस्या समाधान गर्ने महत्त्वाकाङ्क्षी परियोजना अघि बढाइएको हो । यस परियोजनाको उद्देश्य सहरवासीलाई २४ घण्टे शुद्ध र सुरक्षित खानेपानी सेवा उपलब्ध गराउनु रहेको छ ।

Advertisement

परियोजना अन्तर्गत वीरगंज महानगरपालिकाका वडा नम्बर १ देखि १४, १६ तथा २४ सम्मका सहरी क्षेत्रलाई समेट्दै पाँच वटा आधुनिक ओभरहेड ट्याङ्की निर्माण गरिनेछ । ती ट्याङ्कीहरू सुगरमील क्षेत्र, पदम रोड, वडा नम्बर २४, जिल्ला प्रशासन कार्यालय पर्साको पछाडि तथा आदर्शनगर क्षेत्रमा निर्माण हुनेछन् । प्रत्येक ओभरहेड ट्याङ्कीको क्षमता ३ लाखदेखि ८ लाख लिटरसम्म रहने जनाइएको छ ।

यसका साथै सहरभरि करिब ३२२ किलोमिटर लामो उच्च गुणस्तरको पाइपलाइन विस्तार गरिने लक्ष्य परियोजनाले लिएको छ । नयाँ पाइपलाइनमार्फत नियमित, भरपर्दो र सुरक्षित खानेपानी वितरण गरिनेछ भने उच्च प्रविधिको प्रयोगबाट पाइपलाइनको निरन्तर अनुगमन, निरीक्षण तथा मर्मत–सम्भारको व्यवस्था पनि गरिनेछ । यसले विगतदेखि देखिँदै आएका पाइप फुट्ने, पानी चुहिने (लिकेज) जस्ता समस्या पूर्ण रूपमा अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

वीरगंजवासीले विगत चार वर्षदेखि, विशेष गरी गर्मी मौसममा, खानेपानीको गम्भीर समस्या भोग्दै आएका थिए । पानीको अभावका कारण सर्वसाधारणलाई ट्याङ्कर तथा वैकल्पिक स्रोतमा निर्भर रहनुपर्ने बाध्यता थियो । यस्तो अवस्थालाई अन्त्य गर्दै नागरिकलाई सहज र सुरक्षित खानेपानी सेवा प्रदान गर्ने लक्ष्यका साथ यो परियोजनाको ठेक्का प्रक्रिया अघि बढाइएको हो । ठेक्का प्रक्रिया सम्पन्न भएसँगै छिट्टै निर्माण कार्यसमेत सुरु हुने महानगरपालिकाले जनाएको छ ।

खानेपानी मन्त्री प्रदीप यादव कार्यरत रहँदा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निरन्तर पहल र सक्रियताका कारण यो बहुप्रतिक्षित परियोजना वीरगंजमा ल्याउन सफल भएको हो । स्थानीय तह, संघीय सरकार र अन्तर्राष्ट्रिय विकास साझेदारबीचको सहकार्यबाट सुरु हुन लागेको यो परियोजनाले वीरगंजको खानेपानी समस्या स्थायी रूपमा समाधान गर्ने विश्वास लिइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *