अमित अग्रवाल
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको केन्द्रमा वीरगञ्ज ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा समस्या प्रमुख रूपमा उठेको देखियो।
घरदैलोका क्रममा स्थानीय जग्गाधनीहरूले वर्षौंदेखि समाधान नहुँदै आएको मुआब्जा विवादबारे आफ्ना पीडा खुलस्त राखे। उनीहरूले बजार मूल्यअनुसार मुआब्जा नपाएको, पाउनुपर्ने रकमसमेत समयमै उपलब्ध नगराइएको गुनासो गरे। यस समस्याले आफ्नो दैनिकी, रोजगारी र सामाजिक जीवनमा गम्भीर असर पारेको उनीहरूको भनाइ थियो।
रास्वपाका प्रतिनिधिसभा उम्मेदवार कानुले स्थानीयको गुनासो सुन्दै ड्राइपोर्ट पीडितका मागलाई गम्भीर रूपमा लिइएको बताए। निर्वाचित भएपछि सम्बन्धित निकायसँग समन्वय गरी मुआब्जा दर पुनरावलोकन, बाँकी रकम भुक्तानी र पीडित परिवारलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता उनले जनाए।
उनले राज्यका ठूला परियोजनाले नागरिकलाई अन्यायमा पार्न नहुने उल्लेख गर्दै सुशासन, पारदर्शिता र पीडित–केन्द्रित नीति नै रास्वपाको मूल एजेन्डा रहेको बताए।
घरदैलो कार्यक्रममार्फत टोल–टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै रास्वपाले स्थानीय समस्या राष्ट्रिय तहमा उठाउने संकेत गरेको छ। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि ड्राइपोर्ट मुआब्जा विवाद अब राजनीतिक प्रतिबद्धतामा मात्र सीमित नभई व्यवहारिक रूपमा समाधान होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।






