वीरगंज । वीरगंज महानगरपालिका–१ मा आज बिहान नगर प्रमुख राजेशमान सिंहले विभिन्न विकास निर्माण कार्यहरूको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले स्थानीयवासीसँग भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र गुनासोबारे प्रत्यक्ष जानकारी लिएका थिए।
स्थानीयले सडक, नाला, ढल व्यवस्थापन तथा सरसफाइसँग सम्बन्धित विषयहरू उठान गरेका थिए। नगर प्रमुख सिंहले जनताको चासो र आवश्यकतालाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताउँदै देखिएका समस्या समाधानका लागि सम्बन्धित शाखा र प्राविधिक टोलीलाई आवश्यक निर्देशन दिएका छन्।
उनले विकास निर्माणका कामहरू गुणस्तरीय, समयमै र पारदर्शी ढंगले सम्पन्न गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्दै जनसहभागिता बिना दिगो विकास सम्भव नहुने धारणा व्यक्त गरे। “स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो। जनताको अपेक्षा पूरा गर्नु हाम्रो पहिलो जिम्मेवारी हो,” उनले भने।
निरीक्षणका क्रममा महानगरपालिकाका प्राविधिक टोली, स्थानीय अगुवासमेत उपस्थिति रहेको थियो।






