वीरगञ्ज । नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले मितेरी पुलमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान गरौं, जीवनदान गरौं” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा दुवै देशका नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
लायन्स क्लब अफ वीरगञ्ज क्युरेटिभ को आयोजनामा सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष डा. निरज कुमार सिंह तथा रक्सौल–वीरगञ्ज क्षेत्रका लायन्सकर्मीहरूको सक्रिय समन्वय रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि राजेशमान सिंह ले रक्तदान मानव जीवन बचाउने सबैभन्दा पुण्य र मानवीय कार्य भएको उल्लेख गर्दै यस्ता अभियानले नेपाल–भारतबीचको आत्मीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रत्येक स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्नुभयो।
उक्त कार्यक्रममा कुल ६० जनाले रक्तदान गरेका थिए। रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डे को नेतृत्वमा पुगेको प्राविधिक टोलीले रक्तसङ्कलन तथा व्यवस्थापनमा आवश्यक प्राविधिक सहयोग प्रदान गरेको थियो।
मितेरी पुलमा आयोजित उक्त कार्यक्रम सहभागिता, व्यवस्थापन र उद्देश्यका दृष्टिले सफल भएको आयोजकले जनाएको छ। आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक हितका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।






