वीरगंज । जनकपुरधाममा टिपरको लापरवाही फेरि ज्यानलिने दुर्घटनाका रूपमा दोहोरिएको छ। ड्युटीमा खटिएकी एक महिला ट्राफिक प्रहरी जवानको ज्यान गएपछि सवारी सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
ट्राफिक प्रहरी कार्यालय बर्दिबासमा कार्यरत बर्दिबास पशुपतिनगरकी २६ वर्षीया प्रहरी जवान चन्द्रकला महतोको दुर्घटनास्थलमै मृत्यु भएको हो। मधेश प्रदेश प्रहरी कार्यालय, धनुषामा कार्यरत प्रहरी निरीक्षक विजय यादवले चलाएको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट आएको प्रदेश २–०३–००१ क ०१०४ नम्बरको टिपरले ठक्कर दिएको थियो। यादव सामान्य घाइते भएका छन्।
धनुषा प्रहरीका प्रवक्ता डिएसपी गणेश बमका अनुसार आज दिउँसो करिब सवा २ बजे मुरलीचोकबाट जिरोमाइलतर्फ जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट टिपरले ठक्कर दिएको हो। मोटरसाइकलको पछाडि सवार महतोको घटनास्थलमै ज्यान गएको पुष्टि गरिएको छ।
एक महिनाअघि पनि जनकपुरधाममै तीव्र गतिका दुई फरक टिपरले एकै दिन दुई स्थानमा ठक्कर दिँदा एक पुरुषको मृत्यु र एक महिला गम्भीर घाइते भएको घटना ताजै छ। लगातार दोहोरिँदै आएका यस्ता घटनाले टिपर सञ्चालन, गति नियन्त्रण र ट्राफिक अनुगमनको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ।
स्थानीयवासीले भारी सवारी साधनको अनियन्त्रित गति र कमजोर निगरानीका कारण सर्वसाधारण तथा सुरक्षाकर्मी नै असुरक्षित बन्दै गएको बताएका छन्। पछिल्ला घटनापछि जनकपुरधाममा टिपर सञ्चालनसम्बन्धी कडाइ, समय निर्धारण र नियमित जाँचको माग चर्किंदै गएको छ।






